पार्टी पंक्तिलाई ओलीको निर्देशन : निर्वाचनको तयारीलाई तीव्रता दिनुहोस्

पार्टी पंक्तिलाई ओलीको निर्देशन : निर्वाचनको तयारीलाई तीव्रता दिनुहोस्

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने उल्लेख गर्दै निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउन सरकार सफल हुनुपर्नेमा जोड दिए।

ओलीले मुलुक निर्वाचनमा जाने विषयमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहेको धारणा राखे। केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले जानकारी दिए।

ओलीले एमालेका तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइ सकिएको जानकारी दिए। पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नुपर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरू धेरै भए पनि तोकिएको ११० को सीमा, समावेशी क्लस्टर संरचना र भौगोलिक सन्तुलनका कारण सबै पक्ष पूर्णरूपमा समेट्न कठिन भएको उनले स्वीकार गरे।

ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पारे। निर्णय भइसकेपछि आकांक्षीहरूसहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्प र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उनको जोड थियो।

पुष २६, २०८२ शनिबार १७:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।