पार्टी विभाजन रोक्न चन्द्र भण्डारीको ‘मध्यमार्गी’ प्रस्ताव, सुनिल शर्माले भने- ‘विधान मिच्दा संकट’

पार्टी विभाजन रोक्न चन्द्र भण्डारीको ‘मध्यमार्गी’ प्रस्ताव, सुनिल शर्माले भने- ‘विधान मिच्दा संकट’

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने प्रतिबद्धता जनाएका छन्।

विशेष महाधिवेशनको मुद्दाले कांग्रेस विभाजनको डिलमा पुगेपछि भण्डारी र अर्का नेता सुनिल शर्माले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाजन रोक्न आफूहरू सक्रिय भएको बताएका हुन्।

नेता भण्डारीले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै यसलाई ‘नीति महाधिवेशन’ वा ‘संकल्प अधिवेशन’का रूपमा रूपान्तरण गर्नुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका छन्।

उनले भने, ‘हामी कुनै हालतमा पार्टी फुट्न दिँदैनौँ। अहिलेको विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा संकल्प अधिवेशनका रूपमा सम्पन्न गरौँ। काठमाडौं आउनुभएका साथीहरूलाई उत्साहित बनाएर चार महिनापछि हुने नियमित महाधिवेशनमा पुनः आउने वातावरण बनाऔँ।’

उनले विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष दुवैले लचकता अपनाएर पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिए।

अर्का नेता सुनिल शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्ता गर्दा अहिलेको संकट निम्तिएको दाबी गरे।

‘विधानको व्यवस्थालाई संस्थापन पक्षले कुल्चिएकै कारण कांग्रेस अहिले भिरको डिलमा पुगेको छ,’ शर्माले भने, ‘कांग्रेसभित्रको संकट भनेको मुलुककै संकट हो। त्यसैले हामीले यसलाई रोक्न आग्रह गरिरहेका छौँ।’

उनले पार्टी एकता जोगाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल भइरहेको जानकारी दिए। शर्माले विशेष महाधिवेशन पक्षधरलाई पाखा लगाएर नभई दुवै पक्षलाई मान्य हुने मध्यमार्गी विकल्पमा जानुपर्ने बताए।

नेताद्वयले अहिलेको विवाद समाधान गर्ने मुख्य जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भएको औंल्याउँदै सबै पक्षलाई समेटेर निकास निकाल्न आग्रह गरेका छन्।

पुष २६, २०८२ शनिबार १२:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।