गगन-लेखक वार्ता निष्कर्षविहीन, कांग्रेस विभाजनको संघारमा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रमुख नेता रमेश लेखकबीचको निर्णायक मानिएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। विशेष महाधिवेशनको पूर्वसन्ध्यामा सहमतिको प्रयास असफल भएपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ।
विशेष महाधिवेशन रोक्न र पार्टीभित्रको संकट समाधान गर्न रातभरजसो छलफल भए पनि कुनै निकास निस्कन सकेन। नेता प्रकाश स्नेही रसाइलीका अनुसार संस्थापन पक्षको तर्फबाट लेखकले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका छन्।
‘उहाँहरूबीच विभिन्न माध्यमबाट छलफल भइरहेको छ तर अहिलेसम्म सहमति जुटेको छैन,’ रसाइलीले भने। लेखकले राखेको प्रस्तावबारे भने उनले खुलाउन चाहेनन्।
विशेष महाधिवेशन र बढ्दो ध्रुवीकरण
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ।
विशेष महाधिवेशन रोक्न सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सक्रिय रहे पनि महामन्त्रीद्वयले अडान नछाड्दा सहमतिको सम्भावना टरेको हो। संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको छ।
केन्द्रको विवादले तल्लो तहसम्म पार्टी दुई चिरामा विभाजित भएको छ। मधेश, लुम्बिनी र गण्डकी प्रदेश समितिले महामन्त्रीद्वयको अभियानलाई साथ दिएका छन्।
मधेशका उपसभापति र सचिवले विज्ञप्ति नै जारी गरेर सहभागिताको अपिल गरेका छन्। लुम्बिनीका १२ मध्ये ९ जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिँदा कास्की, काभ्रे, पर्वत, भोजपुरलगायत करिब ३० जिल्ला सभापतिहरू यसको पक्षमा खुलेका छन्।
कर्णालीका नौ र सुदूरपश्चिमका ६ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्। त्यस्तै, पार्टीका १७ भ्रातृ सङ्गठनले पनि नियमित महाधिवेशन र आसन्न आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने भन्दै विशेष महाधिवेशनको विपक्षमा संयुक्त अपिल जारी गरेका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेकोमा २४ जनाले फिर्ता लिए पनि करिब ५ सय प्रतिनिधि थपिने दाबी गरेका छन्। उनले पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहेको बताए।
यसैबीच, संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्न र संवादमार्फत निकास निकाल्न नेतृत्वलाई दबाब दिएका छन्।
पुष २६, २०८२ शनिबार १०:३८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।