विशेष महाधिवेशनमा सभापतिलाई निम्तो, विश्वप्रकाश भन्छन्- 'महाधिवेशन प्रतिनिधिको संख्या अझै बढ्छ'
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबारदेखि काठमाडौंमा सुरु हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आमन्त्रण गरिएको बताएका छन्।
शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपको अवलोकनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेतृत्वलाई सम्मानजनक सहभागिताका लागि आह्वान गरिएको जानकारी दिए। आफूहरू पार्टी नेतृत्वको अनादर गर्ने वा नकारात्मक टिप्पणी गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले विधानको व्यवस्थाअनुसार महाधिवेशन अघि बढ्ने बताए।
"हामी अहिले कसैका बारेमा पनि कुनै टिप्पणी गर्दैनौं। मात्रै प्रश्न पार्टीको विधानमा व्यवस्था भएबमोजिम काम भयो कि भएन भन्ने हो," शर्माले भने, "त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथीहरूले आह्वान गर्नुभएको छ।"
उनले विशेष महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको समर्थन बढ्दो क्रममा रहेको दाबी गरे। यसअघि हस्ताक्षर बुझाएका प्रतिनिधिहरूको संख्यामा अब ५०० जना थपिने अवस्था देखिएको उनको भनाइ छ।
शर्माका अनुसार आइतबार विशेष महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भइसकेपछि कार्यविधि निर्माण गरिनेछ। सोही कार्यविधिका आधारमा महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने उनले बताए।
कांग्रेसको १४ औँ महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधि थिए। तीमध्ये २ हजार ४८८ जनाको हस्ताक्षरसहित गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष विशेष महाधिवेशनको माग पत्र बुझाइएको थियो।
पुष २५, २०८२ शुक्रबार १५:३९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।