कांग्रेसका भातृ संगठनहरूको संयुक्त अपिल : 'विशेष महाधिवेशन त्यागौं, पार्टीलाई एकढिक्का बनाऔं'
काठमाडौं : नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टी नेतृत्वलाई एकढिक्का भएर अघि बढ्न सामूहिक अपिल गरेका छन्।
भ्रातृ संगठन प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरेर कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा तय गरेको नियमित महाधिवेशनको पक्षमा वकालत गरे।
पार्टीको नियमित महाधिवेशन वैशाख २८-३१ को लागि तोकिएको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको सन्दर्भ फुटको राजनीति अन्त्य गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नियमित महाधिवेशनको मिति वैशाख २८ गते देखि ३१ सम्मका लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन।”
संवेदनशील समयमा सबैलाई संयमित हुन आग्रह गर्दै उनीहरूले विशेष महाधिवेशनको निर्णयबाट पछि हट्नुपर्ने आशय व्यक्त गरेका छन्। उनीहरूले भनेका छन्, “यो समयमा सबै नेता कार्यकर्ताहरू तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारपूर्ण तरिकाले सबैको सहअस्तित्व लाई स्वीकार गरेर सहमति मार्फत नै अघि बढ्न अनुरोध गर्दछौं।”
कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै देशलाई संकटमुक्त गर्न कांग्रेस एकताबद्ध हुनुपर्नेमा उनीहरूको जोड छ। उनीहरूले अपिलमा भनेका छन्, “हालको अवस्थामा देश र जनतालाई संकट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौं।”
केही दिनअघि पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकमा जाने क्रममा पूर्व उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरूमाथि भएको दुर्व्यवहारप्रति भातृ संगठनहरुले आपत्ति जनाए। पार्टीभित्रै शीर्ष नेताहरूमाथि अपमानजनक व्यवहार भएको भन्दै उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

पुष २५, २०८२ शुक्रबार १५:०९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।