कांग्रेस संस्थापन पक्षीय भेलाको निष्कर्ष- विशेष महाधिवेशनको नाममा पार्टी फुटाउने तयारी भयो
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको मागले पार्टी विभाजन निम्त्याउने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंको बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै यसलाई रोक्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गङ्गा अवाल, मदनकृष्ण श्रेष्ठलगायत सहभागी थिए।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यकारी व्यवस्था छ।
तर, संस्थापन पक्षले यो प्रावधानलाई पन्छाउँदै पुस अन्त्यका लागि तोकिएको नियमित महाधिवेशनलाई आगामी वैशाख अन्त्यसम्म धकेलेको छ।
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको स्वामित्व लिँदै पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन्।
यता, संस्थापन पक्ष भने त्यसलाई असफल बनाउने रणनीतिमा लागेको छ। सोही मितिमा संस्थापन पक्षले पनि जिल्ला सभापति र युवाहरूको भेला राखेर मुठभेडको तयारीमा लागेका छन्।
तर बराल भने त्यसलाई मुठभेडको तयारी नभई पार्टीलाई बलियो बनाउने प्रयास भएको दाबी गर्छन्।
भेलाबारे जानकारी दिँदै उनले विशेष महाधिवेशनको बहानामा पार्टी फुटाउने तत्त्वहरू सक्रिय भएको आरोप लगाए।
उनले भने, ‘पार्टीलाई विभाजित र कमजोर बनाउनेहरू सक्रिय भएका छन्, त्यसलाई रोकेर पार्टी जोगाउन हामी छलफलमा जुटेका हौँ।’
उनले आफ्नो समूहको तयारी मुठभेडका लागि नभई पार्टीलाई बलियो बनाउनका लागि भएको जिकिर गरे।
यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विधानले अनिवार्य गरेको विशेष महाधिवेशन आयोजना गर्दा पार्टी कमजोर नभई झन् बलियो हुने तर्क गर्दै आएका छन्।
शर्माले पार्टी विभाजित हुने अवस्था आए आफू सबैभन्दा पहिला हलबाट बाहिरिने प्रतिबद्धता जनाएका छन् भने थापाले बरु आफू ‘विष पिउन तयार रहेको’ तर पार्टी विभाजन हुन नदिने बताउँदै आएका छन्।
पुष २५, २०८२ शुक्रबार १४:२५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।