जाडोमा इन्फ्लुएन्जाको जोखिम : कसरी जोगाउने आफू र परिवारलाई ?

जाडोमा इन्फ्लुएन्जाको जोखिम : कसरी जोगाउने आफू र परिवारलाई ?

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ। मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो।

जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसका कारण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए।

फ्लू इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ। फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन। 

दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न प्रवक्ता डा बुढाथोकीले आग्रह गरे।

फ्लू कसरी सर्छ ?

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा श्वास लिँदा फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।

फ्लूका लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु जस्ता लक्षण देखिने गर्दछन्। फ्लू भएका सबैलाई ज्वरो नआउन सक्छ।

फ्लू रोकथामका उपाय

फ्लू भएका बिरामीसँग भौतिक दुरी राख्नुपर्दछ। सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ। शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्दछ र हातले आँखा, नाक वा मुख छुने गर्नुहुँदैन। 

पुष २४, २०८२ बिहीबार २०:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।