कांग्रेस किचलो : विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन पक्षको केन्द्रीय सदस्य र युवा भेला

कांग्रेस किचलो : विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन पक्षको केन्द्रीय सदस्य र युवा भेला

काठमाडौं : दुई महामन्त्रीको सक्रियतामा पुस २७ र २८ मा विशेष महाधिवेशन हुने भएपछि त्यसलाई प्रभावहीन बनाउन नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय सदस्य र युवा भेला राखेको छ। संस्थापन पक्षधरले शुक्रवार आफू निकट केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।

शुक्रवार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला राखेका हुन्। उता विशेष महाधिवेशनलाई प्रभाव पार्न पुस २७ गते युवा भेला बोलाएको छ।

केन्द्रीय सदस्यको भेला आयोजनामा सक्रिय एक नेताका अनुसार भेलामा पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छैन। केन्द्रीय सदस्यहरू मात्रै बसेर विशेष महाधिवेशनबारे धारणा बनाउने उनले जानकारी दिए। संस्थापन पक्षले विशेष महाधिवेशनलाई प्रभावित पार्नेगरी उद्घाटनकै दिन पारेर पार्टी कार्यालयमा युवा भेला समेत आयोजना गरेको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने समय पारेर २७ गते बिहान ११ बजे पार्टी कार्यालयमै युवा भेला राखेको हो। युवा भेला गर्ने जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले लिएका छन्।

उता विशेष महाधिवेशन पक्षधरहरू महाधिवेशनलाई भव्य बनाउन सक्रिय भएका छन्। उनीहरूले आफ्नो पक्षमा रहेका जिल्ला कार्य समितिहरूलाई विज्ञप्तिमार्फत् विशेष महाधिवेशनमा भेला हुन आव्हान गराइरहेका छन्। उनीहरूले काठमाडौंको विभिन्न स्थानबाट झाँकी निकालेर विशेष महाधिवेशनस्थलमा जाने तयारी गरेका छन्।

विशेष महाधिवेशनको पक्षधरहरूले ५४ प्रतिशतको महाधिवेशन प्रतिनिधिहरू आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन्। संस्थापन पक्षधरहरूले विशेष महाधिवेशनमार्फत पार्टी विभाजित हुने बताइरहँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने पार्टी विभाजित नहुने दाबी गर्दै आएका छन्।

विवादबारे छलफल गर्न बिहीवार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बस्दैछ। बैठक चार बजे बोलाइएको छ।

पुष २४, २०८२ बिहीबार १४:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।