नेपाल टेलिकमका प्रिपेड ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने, परीक्षण सुरु

नेपाल टेलिकमका प्रिपेड ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने, परीक्षण सुरु

काठमाडौं : नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि ‘क्यूआर कोड’ मार्फत ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने नयाँ सुविधाको परीक्षण सुरु गरेको छ।

टेलिकमले काठमाडौंको सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट यो सेवाको परीक्षण शुभारम्भ गरेको हो।

एक कार्यक्रमका बीच टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र बागमती प्रदेश निर्देशनालयका निर्देशक इन्दल यादवले संयुक्त रूपमा यस सेवाको सुरुवात गरे।

यस व्यवस्था अन्तर्गत, आफ्नो नाम वा अन्य विवरण सच्याउन चाहने ग्राहकहरूले अब टेलिकमको ग्राहक सेवा केन्द्रमा उपलब्ध क्यूआर कोड स्क्यान गरी अनलाइनमार्फत नै आवश्यक विवरण भर्न सक्नेछन्।

सोही विवरणको आधारमा टेलिकमको सिस्टमले स्वचालित रूपमा ग्राहकको विवरण प्रमाणित र अद्यावधिक गर्नेछ।

प्रमुख व्यावसायिक अधिकृत मातन्छेले यो सेवाले टेलिकमको सेवालाई अझ ग्राहकमैत्री बनाउने बताए।

त्यस्तै, निर्देशक यादवले यसबाट काम छिटो हुने र कम्पनीको उत्पादकत्व बढ्ने विश्वास व्यक्त गरे। सुन्धारा कार्यालय प्रमुख निर्मल चटौतले यो कदम डिजिटल रूपान्तरण र कागजविहीन सेवा प्रवाहमा सहयोगी हुने बताए।

हाल परीक्षणका रूपमा सुन्धाराबाट सुरु गरिएको यो सेवा सफल भएपछि काठमाडौं उपत्यकाका अन्य कार्यालय र देशभरका कार्यालयहरूमा विस्तार गरिने टेलिकमले जनाएको छ।

साथै, भविष्यमा टेलिकमको वेबसाइट र एपबाटै विवरण भर्न सकिने सुविधा ल्याउने तयारी पनि भइरहेको कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।

पुष २४, २०८२ बिहीबार १०:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।