कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौंमा आउन महाधिवेशन प्रतिनिधिलाई निम्ता दिए

कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौंमा आउन महाधिवेशन प्रतिनिधिलाई निम्ता दिए

काठमाडौं : नियमित कि विशेष महाधिवेशन भन्ने विवादकै बिचमा नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ का लागि काठमाडौंमा हुनेगरि विशेष महाधिवेशन आह्वान गरेका छन्। विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले बुधवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वान गरेको हो।

विशेष महाधिवेशन पक्षधरहरूले पार्टीले २०८२ पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेपछि विधान अनुसार माग भएको विशेष महाधिवेशनको विकल्प नभएको तर्क गरेका छन्।

संस्थापन पक्षधरहरूले पुस अन्तिममा तोकेको नियमित महाधिवेशन सारेर वैशाखमा पुर्याएका छन्। उनीहरूले नियमित महाधिवेशन गर्ने मंसिर १५ को केन्द्रीय कार्यसमितिको निर्णयपछि विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गरिरहेका छन्।

४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नु विधान अनुसार बाध्यकारी भएकाले आफूहरूले विशेष महाधिवेशनको आव्हान गरेको उनीहरूको तर्क छ।

‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै २०८२ पौष २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ,’ विशेष महाधिवेशनको पक्षमा रहेकाहरूले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुक भइसकेको छ भने उनीहरूले सुरक्षाका लागि स्थानीय प्रशासनमा समेत पत्राचार गरिसकेका छन्। बुधवारै विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएको सार्वजनिक गरे।

बुधवारै विशेष महाधिवेशनको विषयमा कांग्रेसका महामन्त्री गगन थापाले बुद्धिजीवीहरूसँग छलफल गरिरहेका छन्। यस अगाडि सो समूहले कानुनका विज्ञहरूसँग परामर्श गरेका थिए।

पुष २३, २०८२ बुधबार १५:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।