राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो नौ उम्मेदवार, सुनिल थापादेखि खम्मबहादुर खातीसम्म
काठमाडौं : नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना ९ जना उम्मेदवारको नाम अनुमोदन गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समितिले प्रस्ताव गरेका उम्मेदवारहरूको नाम अनुमोदन गरेको हो।
बैठकको निर्णयअनुसार कोशी प्रदेशबाट पूर्वमन्त्री सुनिलबहादुर थापादेखि सुदूरपश्चिमबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीसम्मले राष्ट्रिय सभा सदस्यका लागि टिकट पाएका छन्।
यस्तै मधेशबाट धमेन्द्र पासवान र रन्जित कर्ण हुँदा, बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना, लुम्बिनीमा वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णाली प्रदेशबाट ललितजंग शाही उम्मेदवार छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर र महेन्द्र यादव, सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आ–आफ्नो धारणा राखेका थिए।
यसअघि बसेको कांग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो, जसलाई आजको कार्यसम्पादन समितिले औपचारिकता दिएको हो।
पुष २३, २०८२ बुधबार १३:०६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।