चितवन निकुञ्जमा साउनयता नौ गैँडा मरे
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता नौ वटा गैँडा मरेका छन्।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गरी ती गैँडा मृत भेटिएका हुन्।
मृत भेटिएका ९ गैँडामध्ये ५ वटा भाले र ३ वटा पोथी छन् भने एउटाको लिङ्ग पहिचान हुन सकेको छैन।
सूचना अधिकारी मगरका अनुसार मरेकामध्ये एउटा गैँडालाई विद्युतीय करेन्ट लागेको थियो भने अन्य सबैको मृत्यु प्राकृतिक कारणले भएको हो।
पछिल्लो पटक पुस २२ गते कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको थियो।
‘यो गैँडा जुधेर मरेको अनुमान गरिएको छ, यसको खाग र खुर सुरक्षित अवस्थामा थियो’, मगरले भने।
निकुञ्जमा प्राकृतिक कारण, विद्युतीय करेन्ट, एकापसमा जुधेर तथा दलदलमा फसेर गैँडा मर्ने गरेका छन्। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।
पुष २३, २०८२ बुधबार १३:०१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।