कांग्रेस पार्टी कार्यालय बाहिर तनाव, गेटमा कार्यकर्ताको नाराबाजी
काठमाडौं : महाधिवेशनको विषयमा नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक ध्रुवीकरणको प्रभाव मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देखियो। आगामी राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि पार्टी कार्यालय परिसरमा तनावको स्थिति सिर्जना भयो।
बैठकमा सहभागी हुन पुगेका शीर्ष नेताहरू वैकल्पिक मार्ग प्रयोग गरी कार्यालयभित्र प्रवेश गर्नुपर्यो। पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षबीच बढेको दूरीका कारण सानेपामा कार्यकर्ताहरूले प्रदर्शन गरे।
पार्टी नेतृत्वविरुद्ध नाराबाजी गर्दै उनीहरूले मुख्य प्रवेशद्वारमा अवरोध गरे। सोहिक्रममा पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि र प्रदर्शनरत समूहबीच भनाभन समेत भयो। स्थिति नियन्त्रणबाहिर जान नदिन अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
विशेष महाधिवेशनको पक्षमा दबाब दिन पुगेका विशेष महाधिवेशन पक्षधर केही नेता तथा कार्यकर्तालाई प्रहरीले कार्यालयको गेटमै रोकेपछि अवस्था थप उत्तेजित बनेको थियो। आफ्नै कार्यालयमा प्रवेश निषेध गरिएको भन्दै इतर पक्षका नेताहरूले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
कांग्रेसको विधानअनुसार २०८२ मंसिरभित्र १५ औँ नियमित महाधिवेशन सम्पन्न हुनुपर्ने प्रावधान छ। तर, नेतृत्व तत्काल महाधिवेशन गर्ने पक्षमा देखिएको छैन। करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका छन्। पछिल्लो पटक पुस १८ गतेको निर्णयले नियमित महाधिवेशन वैशाखसम्म पुर्याएपछि असन्तुष्ट पक्ष थप आक्रोशित बनेको छ।
बाहिरको तनाव र प्रदर्शनका बीच सुरु भएको कार्यसम्पादन समितिको बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्य राजनीतिक दलहरूसँग भइरहेको संवाद र सिट बाँडफाँटको सम्भावित आधार लगायतका विषयमा ब्रिफिङ गर्दैछन्।
पुष २२, २०८२ मंगलबार १५:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।