रवि र बालेन ‘वैदेशिक शक्तिको दलाली’मा लागेको ओलीको आरोप, चुनाव सार्ने षड्यन्त्र भएको दाबी

रवि र बालेन ‘वैदेशिक शक्तिको दलाली’मा लागेको ओलीको आरोप, चुनाव सार्ने षड्यन्त्र भएको दाबी
फाइल तस्बिर

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)तर्फ संकेत गर्दै उनीहरू ‘वैदेशिक शक्तिको दलाली’मा संलग्न रहेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको र केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार तथा विदेशीको दलालीमा लागेको टिप्पणी गरे।

उनले भने, ‘विकासको नाममा एनजीओ/आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।’

ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जिम्मा रवि र बालेनले लिनुपर्ने बताए।

बैठकमा ओलीले भने, ‘नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना सशक्त भएकै कारण भदौको घटनालाई महान् उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले गर्न सकेनन्। न त आन्दोलनको जस लिन सके, न देशलाई पुगेको क्षतिको भारीबाट पन्छिन सके। अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ।’

अध्यक्ष ओलीले मंसिर ५ गते घोषणा गरिएको ‘नेसनल भोलिन्टियर्स फोर्स’लाई टोल-टोलसम्म विस्तार गर्न निर्देशन दिएका छन्। जेनजी र युवाहरूलाई समेटेर बनाइएको दाबी गर्दै उनले उक्त फोर्सलाई परिचालन गरेर आगामी निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने बताए।

‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल-टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गर्नुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले बताए।

अध्यक्ष ओलीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न सरकार र विदेशी शक्ति लागिपरेको दाबी गरे।

एमाले र कांग्रेस नजिकिँदै गएपछि आत्तिएर निर्वाचन सार्ने वा विभिन्न चरणमा गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ थियो। उनले संसद् पुनर्स्थापना हुन नदिन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत दबाब र धम्की दिने काम भइरहेको भन्दै यसले लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए।

चुनावी कमान्डरमा बादल, घोषणापत्रको जिम्मा ओलीलाई
एमाले सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई निर्वाचन परिचालन कमिटीको कमान्डर तोकेको छ।

कमिटीको सचिवमा विष्णु रिमाल तथा सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन्।

त्यस्तै, चुनावी घोषणा पत्र मस्यौदा कमिटीको संयोजकमा स्वयं अध्यक्ष केपी शर्मा ओली रहने निर्णय भएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार मस्यौदा कमिटीमा रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र देशको समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भएको थियो।

अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको भन्दै कार्यकर्तालाई सजग रहन निर्देशन दिएका छन्।

पुष २२, २०८२ मंगलबार १३:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।