कांग्रेसको परिपत्र : विशेष महाधिवेशनको औचित्य सकियो, चुनावी 'मिसन'मा होमिनू
काठमाडौं : नेपाली कांग्रेसले पार्टीभित्र उठ्दै आएको विशेष महाधिवेशनको माग अब सान्दर्भिक नरहेको स्पष्ट पारेको छ। तल्ला तहका कमिटीहरूलाई परिपत्र गर्दै कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिएको हो।
परिपत्रमा १५ औँ महाधिवेशनको कार्यतालिका तय भई प्रक्रिया अघि बढिसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएको उल्लेख छ। कांग्रेसले गत मंसिर १५ गतेको बैठकबाटै १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरिसकेको स्मरण गराउँदै विधान बमोजिम नियमित प्रक्रिया सुरु भइसकेको जनाएको छ।
परिपत्रमा भनिएको छ, "विधान बमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको ब्यहोरा स्पष्ट गरिन्छ।"
कांग्रेसले आन्तरिक रूपमा महाधिवेशनको तयारी भइरहे पनि अहिलेको मुख्य प्राथमिकता आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रहेको भनेको छ। अहिले पार्टीको ध्यान पूर्णतः निर्वाचन केन्द्रित हुनुपर्ने उल्लेख गर्दै परिपत्रमा भनिएको छ, “पार्टीका उल्लेखित सबै सांगठनिक संरचनामा आबद्ध सदस्य साथीहरू व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।”
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सुस्त देखिएकोप्रति कांग्रेसले चासो देखाएको छ। निर्धारित कार्यतालिका भित्र क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा पेश नभएको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै वडा अधिवेशनका लागि सदस्यता टुङ्ग्याउनु अनिवार्य रहेको जनाएको छ।
पुष २१, २०८२ सोमबार १५:०४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।