नेपाल लाइफद्वारा २१.०५ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः संघई
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा शनिबार पर्साको वीरगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न सभाले सेयर धनीहरूका लागि २१.०५ प्रतिशत लाभांश पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। यस्तै, साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ।
सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले गोविन्द लाल संघईलाई पुनः अध्यक्षमा चयन गरेको छ। अध्यक्ष संघईले कम्पनीलाई प्रविधिमैत्री बनाउन 'डिजिटल ट्रान्सफर्मेशन' र 'लर्निङ म्यानेजमेन्ट सिस्टम' जस्ता नवीन प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय मापदण्ड र संस्थागत सुशासनको पूर्ण पालना गर्दै कम्पनीलाई थप उचाइमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीको वित्तीय अवस्था प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २०८२ असोज मसान्तसम्म कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ र जीवन बीमा कोष २४५ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। हालसम्म ३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको यस कम्पनीले १०३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ।
देशभर १७९ कार्यालयमार्फत सेवा दिइरहेको नेपाल लाइफले आगामी दिनमा लगानी विविधीकरण र ग्राहक केन्द्रित योजनाहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
पुष २०, २०८२ आइतबार १३:४४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।