कांग्रेसको १५औँ महाधिवेशन वैशाखमा, यस्तो छ महाधिवेशन कार्यतालिका

कांग्रेसको १५औँ महाधिवेशन वैशाखमा, यस्तो छ महाधिवेशन कार्यतालिका

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको हो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रस्तावअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुनेछ। यसअघि आगामी पुस महिनाका लागि तय गरिएको महाधिवेशन विभिन्न प्राविधिक कारणले हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

महाधिवेशनको नयाँ मिति तय भएसँगै बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ। यसअघि गत मंसिरमा बसेको बैठकले कार्यसमितिको म्याद माघ मसान्तसम्मका लागि मात्र थप गरेको थियो। विधानको व्यवस्थाअनुसार तल्ला तहका कमिटीहरूको म्याद पनि सोहीअनुसार थप हुने प्रवक्ता महतले प्रस्ट पारे। 

यस्तो छ पारित कार्यतालिका अनुसार तल्लो तहदेखि केन्द्रसम्मको महाधिवेशन कार्यतालिका :

गाउँ/नगर वडा अधिवेशन: २०८२ चैत २१ गते
गाउँ/नगर अधिवेशन: २०८२ चैत २५ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन: २०८२ चैत २८ गते
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०८३ वैशाख २ गते
दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको क्षेत्रीय अधिवेशन: २०८३ वैशाख ५ गते
प्रदेश अधिवेशन: २०८३ वैशाख १०, ११ र १२ गते
केन्द्रीय महाधिवेशन: २०८३ वैशाख २८, २९, ३० र ३१ गते (काठमाडौं)

बहुमतले महाधिवेशनको मिति तय गरे पनि पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले उक्त निर्णयप्रति लिखित असहमति जनाए। महामन्त्रीद्वयसँगै केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले पनि सो निर्णयमा विमति राखे। 

पुष १८, २०८२ शुक्रबार १९:३२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।