केन्द्रीय कार्यालयको तर्फबाट विशेष महाधिवेशनको आह्वान हुने गगनको घोषणा : भने- काठमाडौं आउने तयारी गर्नुहोला

केन्द्रीय कार्यालयको तर्फबाट विशेष महाधिवेशनको आह्वान हुने गगनको घोषणा : भने- काठमाडौं आउने तयारी गर्नुहोला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य बनेको दोहोर्याएका छन्। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशन आगामी वैशाखमा गर्ने र केन्द्रीय समितिको म्याद जेठसम्म थप्ने बहुमतको निर्णय गरेपछि महामन्त्री थापाले विशेष महाधिवेशन बोलाउने बताए। 

पार्टी विधानले विशेष महाधिवेशनको विकल्प नदिएको उल्लेख गर्दै उनले विधान कार्यान्वयनका लागि आफूहरू दृढ रहेको बताए। उनले भने, “विधानले अब विशेष महाधिवेशन गर्नुको विकल्प नदिएको हुनाले यो गर्नै पर्छ। अन्य कुरामा लागू भएको विधान विशेष महाधिवेशनको हकमा नलाग्ने भन्ने हुँदैन।”

कार्यकारी बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन सार्ने प्रस्ताव ल्याउँदा आफूहरूको फरक मत रहेको जानकारी दिँदै थापाले भने, “मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहेर्ने भन्ने हुँदैन। विशेष महाधिवेशनबारे निर्णय हुनै पर्छ। म टुलुटुलु हेरेर बस्दिनँ, विधानको धाराअनुसार जान्छु र आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छु।”

उनले केन्द्रीय समितिले विशेष महाधिवेशन नबोलाए महामन्त्रीको हैसियतमा केन्द्रीय कार्यालयको तर्फबाट आह्वान गर्ने स्पष्ट पारे। “केन्द्रीय समितिले निर्णय गरेर हुन्छ कि महामन्त्रीबाट घोषणा गरेर हुन्छ एक-दुई दिनमा हामी टुंगोमा पुग्छौं। कार्यसमितिबाट घोषणा नभए महामन्त्रीहरूले केन्द्रीय कार्यालय चलाउने भएको आधारमा विशेष महाधिवेशनको आह्वान गर्छन्,” थापाले थपे।

उनले देशभरका महाधिवेशन प्रतिनिधिलाई पुस मसान्तमा काठमाडौं आउने तयारी गर्न आग्रह गर्दै भने, “पुसको मसान्तमा विशेष महाधिवेशनमा आउने तयारी गर्नुहोला। निम्तो गर्छु, यहीँबाट आह्वान गर्छु। पुसभित्र विशेष महाधिवेशन हुन्छ, सबै साथीसँग महाधिवेशनमा भेटौँला।”

पुष १८, २०८२ शुक्रबार १९:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।