मापसे चेकजाँचमा प्रहरीलाई ठक्कर दिएर भारतीय चालक फरार, एक प्रहरी गम्भीर घाइते
हेटौंडा : मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाइरहेका एक भारतीय नागरिक डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका छन्।
हेटौंडा उपमहानगरपालिकास्थित राप्ती पुल नजिक ट्राफिक प्रहरी कार्यालय अगाडि भइरहेको नियमित चेकजाँचका क्रममा यो घटना भएको हो।
ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी हुइक्याएर प्रहरीलाई ठक्कर दिएका थिए।
प्रत्यक्षदर्शीका अनुसार ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर परसम्म घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै कारसहित फरार भएका चालकको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले भारतीय नम्बर प्लेटको उक्त कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा निगरानी बढाएको छ।
प्रहरीले डिउटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई गम्भीर अपराधको रूपमा लिँदै दोषीलाई पक्राउ गरी कडा कारबाही गरिने चेतावनी दिएको छ। घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
पुष १८, २०८२ शुक्रबार ०९:४७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।