कांग्रेसमा बढ्दो आन्तरिक कलह : सभापति देउवाले गरे महामन्त्रीसँगको बैठक स्थगित

कांग्रेसमा बढ्दो आन्तरिक कलह : सभापति देउवाले गरे महामन्त्रीसँगको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको छलफल अन्तिम समयमा आएर स्थगित गरेका छन्।

सभापति देउवाले बिहीबार साँझ ५ बजेका लागि महामन्त्रीद्वयलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका थिए। तर, कार्य व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए। उक्त बैठक अब शुक्रबार अनुकूल समयमा बस्ने बताइएको छ।

नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि 'विशेष महाधिवेशन'को तयारी अघि बढाए। यसका लागि भृकुटीमण्डपमा हलसमेत बुकिङ भइसकेको छ। 

संस्थापन पक्षले नियमित महाधिवेशन तत्काल हुन नसक्ने सङ्केत दिएपछि महामन्त्रीद्वय विशेष महाधिवेशनको लागि अघि बढे। सभापति देउवासँगको बैठक स्थगित भएलगत्तै महामन्त्री गगन थापा विशेष महाधिवेशनको प्रतिवेदन लेखनका लागि धुलिखेलतर्फ लागेका छन्। महामन्त्रीले विशेष महाधिवेशनको तयारी थालेपछि त्यसलाई रोक्न संस्थापन पक्ष आन्तरिक रणनीति निर्माणमा जुटेको छ। 

महामन्त्रीद्वयले महाधिवेशनको अन्योलता चिर्न नसके आगामी आमनिर्वाचनमा आफूहरू उम्मेदवार नबन्ने घोषणा  यसअघि नै गरिसके। पुसको अन्तिम साताका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका अनुसार महाधिवेशनका कार्य अघि बढ्न नसकेपछि पार्टीभित्र असन्तुष्टि चुलियो। 

पुष १७, २०८२ बिहीबार १९:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।