निजी क्षेत्र त्रसित छ, सरकारले संरक्षणको अनुभूति दिलाओस् : अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको निजी क्षेत्रको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्। उनले निजी क्षेत्रको सुरक्षा र सम्मानको ग्यारेन्टी गर्न सरकार र दलहरूसँग माग गरे।
‘शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले गत भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले निजी क्षेत्र त्रसित बनेको बताए।
आन्दोलनमा भएको घुसपैठका कारण निजी क्षेत्रले अर्बौंको क्षति व्यहोर्नुपरेको तथ्य सार्वजनिक गर्दै उनले सरकारको ध्यानाकर्षण गराए। ढकालले भने, “आन्दोलनका क्रममा करिब ४० अर्ब रुपैयाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको छ भने झण्डै ८१ अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रले नोक्सानी बेहोर्नु पर्यो ।”
उनले यति ठूलो क्षति हुँदा पनि दोषीमाथि कारबाही नहुनुले दण्डहीनता मौलाउने र लगानी पलायन हुने जोखिम बढेको बताए। “निजी क्षेत्रको मनोबल नेपालको इतिहासमै अहिलेसम्मकै सबैभन्दा न्यून बिन्दुमा पुगेको अवस्था छ। यसले पुँजी पलायनको जोखिम त बढाएकै छ, मुलुक असफलतातर्फ उन्मुख हुने हो कि भन्ने अर्को संशय पनि जन्माएको छ,” ढकालले भने।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई ओझेलमा पारिएको गुनासो गर्दै उनले ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ मन्त्रीपरिषदबाट तत्काल पारित गर्न माग गरे। उनले भने, “देशका रोजगारदाता, सेवा प्रदायक र सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन... उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रूपमा नेपाल सरकारबाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति लागु गरियोस्।”
उक्त रणनीति अन्तर्गत उद्योग र प्रतिष्ठानको सुरक्षाका लागि छुट्टै 'हटलाइन' र 'द्रुत सुरक्षा दस्ता' (क्विक रेस्पोन्स फोर्स)को व्यवस्था गर्न समेत उनले प्रस्ताव गरे।
बैंकहरूसँग ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम भए पनि व्यवसायीहरूले ऋण लिन नचाहेको प्रसङ्ग उल्लेख गर्दै ढकालले राज्यको वित्तीय अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँ घाटामा छ र राजस्वले कर्मचारीको तलब भत्ता समेत पुर्याउन गाह्रो हुने अवस्था सिर्जना भएको छ।
आसन्न निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने र राजनीतिक स्थायित्व दिने विश्वास व्यक्त गर्दै ढकालले निर्वाचनका लागि सरकार र राजनीतिक दलहरूले देखाएको तत्परताको प्रशंसा गरे। उनले भने, “हामीले राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न सकेनौं भने, यदि हामीले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भई काम गर्न दिएनौं भने हामी सफल हुन सक्दैनौं।”
ढकालले अगाडि प्रश्न गरे, “के ऋण, धन गरेर लगानी गर्ने व्यवसायीले सेवा दिएरै नाफाको अपेक्षा गर्नु अपराध हो ? होइन भने निजी क्षेत्रलाई किन सधैँ अपमानित गरिन्छ ? के व्यवसायीले आफूले जोखिम लिएर धेरैलाई रोजगारी दिनु गलत हो ?”
उनले 'प्राइभेट सेक्टर पावर्स द नेशन' भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै 'निजी क्षेत्र: समृद्धिको सारथि' भन्ने नाराका साथ अघि बढ्न सबैलाई आग्रह गरे। साथै, स्वदेशी पुँजी परिचालन गरी ठूला पूर्वाधारमा लगानी गर्न 'नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)' स्थापना गरिएको जानकारी गराए।
पुष १७, २०८२ बिहीबार १८:१३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।