कांग्रेसमा विशेष महाधिवेशनको तयारी : सभापतिलाई पत्र बुझाउनेदेखि हल बुकिङसम्म

कांग्रेसमा विशेष महाधिवेशनको तयारी : सभापतिलाई पत्र बुझाउनेदेखि हल बुकिङसम्म

काठमाडौं : नियमित महाधिवेशन नहुने देखिएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी अगाडि बढाइएको छ। पार्टीले तय गरेको कार्यतालिका अनुसार १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढ्न नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको गृहकार्य सुरु गरेको छ।

महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको नेतृत्व गर्न पत्र बुझाउँदै छन्। सभापति देउवाले साँझ ५ बजेपछि भेट्न समय दिएको र सोही समयमा पत्र बुझाएर विशेष महाधिवेशनको अध्यक्षता गर्न आग्रह गरिने बताइएको छ। 

विशेष महाधिवेशनका लागि पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपस्थित हलसमेत बुकिङ गरिएको छ। कांग्रेस स्रोतका अनुसार विधानको व्यवस्था बमोजिम महाधिवेशन सम्पन्न गर्न हल सुरक्षित गरिएको हो। 

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिहरूले गत असोजमा करिब ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवेदन बुझाइसकेका छन्।

कांग्रेस संस्थापनसहित शीर्ष नेताहरू विशेष महाधिवेशनको पक्षमा छैनन्। उनीहरूले आगामी निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्नुको औचित्य नभएको भनिरहेका छन्। तर, महामन्त्री पक्षधर नेताहरूले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा विधान कार्यान्वयनका लागि विशेष महाधिवेशन बाध्यकारी भएको निष्कर्ष निकाल्यो।

अधिवेशन आह्वान गर्न सक्ने विषयमा कानुन व्यवसायीहरूसँग परामर्श गरिएको बताइन्छ। विशेष महाधिवेशनबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गर्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ।  

पुष १७, २०८२ बिहीबार १७:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।