तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र काट्ने आयोगको तयारी
काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको स्पष्ट गरे।
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको अवस्थामा आयोगले पत्राचार गर्न लागेको हो।
यसैगरी आयोगलाई थप गरिएको समय सीमाभित्र प्रतिवेदन बुझाउने गरी आफूहरूले काम गरिरहेको उनले बताए। गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ।
पुष १७, २०८२ बिहीबार १५:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।