नयाँ वर्ष मनाउँदै गर्दा स्विट्जरल्याण्डको स्की रिसोर्टमा विस्फोट हुँदा कैयौं मानिसको मृत्यु

नयाँ वर्ष मनाउँदै गर्दा स्विट्जरल्याण्डको स्की रिसोर्टमा विस्फोट हुँदा कैयौं मानिसको मृत्यु

एजेन्सी : स्विट्जरल्याण्डको क्रांस-मोंटाना शहरस्थित ‘अल्पाइन स्की रिसोर्ट’मा नयाँ वर्ष मनाउने क्रममा बिहीबार भएको विस्फोटमा परी कैयौं मानिसको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमले ४० जनासम्मको मृत्यु भएको बताए पनि त्यहाँको सरकारी निकायले त्यसलाई पुष्टि गरिसकेको छैन।

प्रहरीका अनुसार स्थानीय समयअनुसार राति १:३० बजे ‘कन्स्टेलेसन बार’ मा विस्फोट भएको हो। चार सय जनाको क्षमता भएको बारमा विस्फोटको समयमा १०० भन्दा बढी मानिस उपस्थित थिए।

स्विस न्यूज आउटलेट ‘ब्लिक’का अनुसार कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीका कारण विस्फोट भएको र त्यसपछि आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, प्रहरीले विस्फोटको यकिन कारणबारे अनुसन्धान गरिरहेको छ।

घटनालगत्तै प्रहरी, दमकल र एम्बुलेन्ससहितको आपतकालीन टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षाका दृष्टिकोणले विस्फोट भएको स्थान र वरपरको क्षेत्रलाई सिल गरिएको छ।

क्रांस-मोंटाना स्विट्जरल्याण्डको आल्प्स पर्वत क्षेत्रमा अवस्थित एक विलासी स्की रिसोर्ट हो। राजधानी बर्नबाट करिब दुई घण्टाको दूरीमा रहेको यो स्थानमा विशेष गरी हिउँद र नयाँ वर्षको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्छन्।

स्मरण रहोस्, यही रिसोर्टमा जनवरीको अन्त्यतिर ‘एफआईएस वर्ल्ड कप’ नामक स्पिड स्कीइङ प्रतियोगिता आयोजना हुने तालिका छ।

पुष १७, २०८२ बिहीबार १३:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।