छ महिनापछि रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा

छ महिनापछि रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा

रसुवा : नेपालको उत्तरी नाका रसुवागढी करिब छ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि बन्द भएको यो अन्तर्राष्ट्रिय नाका आज बिहानदेखि सञ्चालनमा आएको हो।

चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपछि नाकाबाट सवारीसाधन ओहोरदोहोर गर्न सम्भव भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। नयाँ पुलको भारवहन क्षमता ५५ टन रहेको छ।

केरुङ नाका खुलेको जानकारी पाएपछि आठ वटा नेपाली कन्टेनर सामान आयात गर्नका लागि मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए। केही अन्य सवारीसाधन पनि जानका लागि तयारी अवस्थामा रहेको छ।

यो नाका बन्द हुँदा चालु आर्थिक वर्षको हालसम्म करिब रु २२ अर्बभन्दा बढी राजस्व नोक्सान भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।

यसैबीच, स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डको जीर्ण अवस्थाले गर्दा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ। सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिएको सवारी चालक सुकु तामाङले बताए।

गत असार २४ को बाढीले सडकका दर्जनौँ स्थान कटान गरेको थियो। गल्छी-रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि केवल ट्र्याक खोल्ने काम मात्र भएको थियो। त्यसबेला टेवा पर्खालहरू मजबुत नबनाउँदा सवारीसाधन चलाउन जोखिम बढेको थियो।

पुष १७, २०८२ बिहीबार १३:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।