सस्तोमा डलर साटिदिने प्रलोभन देखाई ठगी गर्ने गिरोहका ४ जना पक्राउ, करिब १० लाख नगद बरामद
सिन्धुपाल्चोक : ‘सस्तो दरमा डलर साटिदिने’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने गिरोहका चार जनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नं. ०५ मुडेमा ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
गत पुस १४ गते अपरान्ह साढे चार बजे सर्वसाधारणलाई ठगी गर्दागर्दै प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसेका ४२ वर्षीय मकर ध्वज तामाङ, ४५ वर्षीय जित बहादुर तामाङ, ३५ वर्षीय छिरिङ दोर्जे लामा र २४ वर्षीया सबिना तामाङ रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद नौ लाख ९५ हजार रुपैयाँ, दुई थान मोटरसाइकल, ६ थान मोबाइल र एउटा चेकबुक बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम ठगी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव राज खरेलले जानकारी दिए।
पुष १७, २०८२ बिहीबार ०९:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।