समानुपातिक बन्दसूची सच्याउने विधि : उम्मेदवारी फिर्ता र नयाँको सिफारिस

समानुपातिक बन्दसूची सच्याउने विधि : उम्मेदवारी फिर्ता र नयाँको सिफारिस

काठमाडौँ : प्रमुख पुराना र नयाँ दलले बुझाएको समानुपातिक बन्द सूची सार्वजनिक भएसँगै दुरुपयोग भएको भन्दै तीव्र विरोध भइरहेको छ। संविधानको मर्म विपरीत परिवारका सदस्य, सेलिब्रिटी र व्यापारीका सन्तानको नाम राखेको भन्दै जेनजी अगुवासहितले विरोध गरेपछि रास्वपासहितका केही दलले गल्ती भएको भन्दै सच्याउने दाबी गरेका छन्।

परिवारका सदस्यको नाम राखेको भन्दै नेपाली कांग्रेसको आलोचना भइरहेको छ। उसको सूचीमा पूर्व र वर्तमान राष्ट्रपति सन्तानको नाम राखिएको छ। वर्ग, क्षेत्र र लैंगिक आधारमा भन्दा पनि चर्चा र निकटताको आधारमा सेलिब्रिटी, दलका नेता र व्यापारीको नाम राख्दा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ।

मंगलबारसम्ममा दलहरूले समानुपातिक उम्मेदवारहरूको सूची बुझाइसकेका छन्। अन्तिममा सूची बुझाउनेमा नेपाली कांग्रेस थियो। बुधवारबाट निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले बुझाएको उम्मेदवारको बन्द सूचीमाथि औपचारिक छानबिन सुरु गरेको छ।

आयोगले दलहरूले बुझाएको नामावली कानुनले तोकेको क्लस्टर (जातीय तथा क्षेत्रीय समूह) अनुसार भए/नभएको र तोकिएको उमेर र कानुनले उम्मेदवार बन्न रोक लगाएको छ या छैन भन्ने जाँच्ने छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा रहेका नामहरूको अध्ययनपछि देखिएका त्रुटि सच्याउन दलहरूलाई समय दिइनेछ।

"हामीले कानुन बमोजिमको क्लस्टर मिलेको छ कि छैन भनेर हेर्न सुरु गरिसकेका छौँ," प्रवक्ता भट्टराईले भने।

सुधारका लागि पुस २७ सम्मको समय

आयोगको कार्यतालिका अनुसार पुस २० गतेसम्म बन्दसूचीको अध्ययन गरिनेछ। सोही दिन आयोगले दलहरूलाई बन्दसूचीमा रहेका कमजोरीबारे पत्राचार गर्ने तयारी गरेको छ। आयोगबाट पत्र प्राप्त गरेपछि राजनीतिक दलहरूले पुस २७ गतेभित्र आफ्नो नामावली सच्याएर संशोधित सूची बुझाउनुपर्नेछ।

उम्मेदवारी फिर्ता र नयाँ मनोनयन

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि पुस २८ गते समय तोकिएको छ। यदि कुनै उम्मेदवारले नाम फिर्ता लिएमा त्यसको जानकारी आयोगले पुस २९ गते सम्बन्धित दललाई दिनेछ।

त्यसरी रिक्त भएको स्थानमा सोही समूह (क्लस्टर) बाट अर्को उम्मेदवार मनोनयन गरी पुस ३० गतेभित्र नयाँ नामावली पेस गर्नुपर्ने प्रावधान राखिएको छ।

दाबी-विरोध र छानबिनको प्रक्रिया

-आयोगले माघ ४ गते उम्मेदवारको संशोधित बन्दसूची सार्वजनिक गर्नेछ। त्यसपछि सुरु हुने दाबी-विरोधको प्रक्रिया यसप्रकार छ:

-माघ ५ देखि १० सम्म : उम्मेदवारको योग्यतामाथि दाबी-विरोध वा उजुरी दिन सकिने।

-माघ ११ देखि १७ सम्म: प्राप्त उजुरीहरूमाथि आयोगले जाँचबुझ गरी फैसला सुनाउने।

फागुन २१ मा मतदान

सबै प्रक्रिया पुरा गरेपछि माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ। अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचनको प्रचारप्रसार र अन्य तयारी तीव्र पारिनेछ। आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

सम्बन्धित समाचार

पुष १६, २०८२ बुधबार १७:४६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।