२४ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार खण्ड

२४ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार खण्ड

रौतहट : एलपी ग्यास बोकेको ट्यांकर दुर्घटनाका कारण २४ घण्टादेखि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको चन्द्रनिगाहपुर-धन्सार सडकखण्ड बुधबार बिहानबाट पुनः सञ्चालनमा आएको छ।

भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी-१७ एटी-२११४ नम्बरको ग्यास बुलेट दुर्घटना भएर सडकमा पल्टिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

ग्यास लिकेजको खतरालाई मध्यनजर गर्दै सुरक्षाका कारण सवारी आवागमन बन्द गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा क्रेनको सहायताले पल्टिएको बुलेटलाई हटाइएको हो।

सम्भावित दुर्घटना रोक्न वारुणयन्त्र (दमकल) तैनाथ गरी करिब दुई घण्टा लगाएर सडक सुरक्षित बनाइएको थियो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सडक पूर्ण रूपमा सुरक्षित भएको यकिन गरेपछि मात्र सवारी साधन सञ्चालनको अनुमति दिएको जनाएको छ।

सडक खुलेसँगै लामो समयदेखि जाममा परेका सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

पुष १६, २०८२ बुधबार ११:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।