वीपी स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं : मुलुकमा राजनीतिक ध्रुवीकरण, अविश्वास र अस्थिरता बढिरहेको सन्दर्भमा आज देशभर ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइँदै छ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले २०३३ साल पुस १६ गते लिएको ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीतिको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
दिवसको अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले देशभर विचार गोष्ठी लगायतका विविध कार्यक्रम आयोजना गरेका छन्।
तत्कालीन पञ्चायती व्यवस्थाको दमनका बाबजुद बीपी कोइरालाले राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि ज्यानको बाजी लगाउँदै भारतको आठ वर्षे निर्वासन त्यागेर स्वदेश फर्किएको दिनलाई मेलमिलाप दिवसका रूपमा मनाइन्छ।
त्यसबेला दक्षिण एसियाली भू-राजनीतिमा आएको फेरबदल र विशेषतः सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट नियालेका बीपीले ‘राष्ट्रियता रहेमात्र प्रजातन्त्र रहन्छ’ भन्ने निष्कर्ष निकालेका थिए।
राजासँगको द्वन्द्वका बाबजुद ‘मेरो घाँटी र राजाको घाँटी जोडिएको छ’ भन्दै उनले मेलमिलापको नीति अघि सारेका थिए।
पुष १६, २०८२ बुधबार ०८:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।