समानुपातिक प्रणालीमा 'शक्तिशाली' को सिन्डिकेट: समावेशिता 'ब्रान्डेड' अनुहारको कब्जामा
काठमाडौँ : नेपालको संविधान २०७२ को धारा ८४ (२) ले स्पष्ट भनेको छ -समानुपातिक निर्वाचन प्रणाली भनेको जनसङ्ख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका ती व्यक्तिहरूलाई संसद् पुर्याउने माध्यम हो, जो मूलधारको राजनीति र शक्ति संरचनाबाट टाढा छन्।
तर, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्दसूची हेर्दा यो संवैधानिक व्यवस्था 'शक्तिशालीका सन्तान', 'अर्बपति व्यवसायी' र 'ग्ल्यामरस सेलिब्रेटी' हरूको संसद् छिर्ने चोरबाटो बनेको देखिन्छ।
रास्वपा: 'वैकल्पिक' राजनीतिमा भाइरलिज्म र विरासत
नयाँ र वैकल्पिक शक्तिको नारा दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक सबैभन्दा धेरै 'हाइप्रोफाइल' नामहरूलाई समानुपातिक सूचीमा समेटेको छ :
व्यापारिक घरानाको दबदबा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा तथा एफसी चितवनका मालिक सचिन ढकाल खस आर्यको दोस्रो नम्बरमा छन्। उनी काठमाडौँका मेयर बालेन साहको कोटाबाट परेको चर्चा छ। त्यस्तै, प्रसिद्ध जुत्ता ब्रान्ड 'गोल्डस्टार' की कार्यकारी निर्देशक विदुषी राणा महिलातर्फ दोस्रो स्थानमा छिन्।
दाइ-भाइको 'सिन्डिकेट': रास्वपाबाट यसअघि नै असीम शाह समानुपातिक सांसद छन्। अहिले उनकै दाइ, चर्चित फिल्मकर्मी आसिफ शाहलाई मुस्लिम कोटाको पहिलो नम्बरमा राखिएको छ।
सेलिब्रेटीको लर्को : चर्चित गायक प्रकाश सपुत (दलित कोटाको दोस्रो नम्बर), अभिनेत्री रीमा विश्वकर्मा (दलित महिलाको पहिलो नम्बर), पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र गायिका त्रिशला गुरुङ लगायतका नामहरूले सूची भरिएको छ।
अभियुक्तलाई पनि आरक्षण : रास्वपाले समानुपातिक सूचीमा राखेको दुई जना मुद्दा दायर भएर धरौटीमा बाहिर रहेकाहरू हुन्। पहिलो हुन ज्वाला सङ्ग्रौला। उनीमाथि सरकारी दस्तखत छाप किर्तेको मुद्दा लागेको थियो। अर्का हुन् अरनिको पाँडे। उनी महिलालाई अश्लील गाली गरेको आरोपमा पक्राउ परेर विद्धुतिय कारोबारको मुद्दामा धरौटीमा छुटेका हुन्।
नेपाली कांग्रेस: 'राष्ट्रपति' का सन्तान र नातावादको जालो
पुराना दलहरूमा नातावादको जग झन् बलियो देखिएको छ। कांग्रेसले बुझाएको ११० जनाको सूचीमा रोचक नामहरू छन्।
राष्ट्रपतिका सन्तान: प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई सुरक्षित रूपमा सूचीमा राखिएको छ।
ससुरा-ज्वाइँको रडाको : निर्वाचन नलड्ने घोषणा गरेका कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी (गगन थापाका ससुरा) लाई समानुपातिकमा राखिएपछि महामन्त्री थापाले सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन्। थापाले लेखेका छन्, "यो मेरो चाहना र हरसम्भव प्रयास विपरीतको निर्णय हो।"
पुरानै अनुहारको दोहोर्याइयो : पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, रोमी गौचन थकाली र सह-महामन्त्री भीष्मराज आङ्देम्बे जस्ता पटक-पटक लाभको पद पाएकाहरूलाई फेरि अवसर दिइएको छ।
एमाले, राप्रपा र आजपा: 'शक्ति' र 'ग्ल्यामर' को मोह
एमाले: माओवादी पृष्ठभूमिबाट आएका रामबहादुर थापा 'बादल' र गायिका भूमिका सुब्बा (जनजाति महिलाको पहिलो नम्बर) एमालेको रोजाइमा परेका छन्। चर्चित गायिका कोमल वलीको नाम पनि यथावत् छ।
आम जनता पार्टी (आजपा): ऋषि धमलाकी श्रीमती तथा नायिका एलिजा गौतम खस आर्य महिलाको पहिलो नम्बरमा परेकी छन्।
राप्रपा: युवा नेतृ तथा मोडल खुस्बु ओलीलाई राप्रपाले समानुपातिकमा अघि सारेको छ।
"यो आन्दोलन र रगतको अपमान हो"
संविधानले सीमान्तकृतको 'आवाज' संसदमा खोजेको थियो, तर दलहरूले सधै 'अनुहार' र 'पैसा' रोजेर यसलाई बदनाम बनाउँदै आएका छन्। यस अगाडि समानुपातिक सिटका पर्न पाँच करोडसम्म पैसा दिएको सार्वजनिक भएकै थियो। त्यसमा पुराना दल केही सच्चिएको देखियो। तर त्यसको विरासत नयाँ दलले उठायो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। समानुपातिक प्रणालीको यो कुरूप रूपमाथि चौतर्फी प्रहार भइरहेको छ।
अभियन्ता भावना राउतको प्रश्न:
"समानुपातिक कसका लागि बनाइएको हो स्पष्ट छ, तर यसलाई कब्जा कसले गर्यो? निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच भएकाहरूलाई सूचीमा बस्दा अलिकति पनि लाज लागेन? के यहीका लागि जनआन्दोलनमा रगत बगाइएको हो? सुदूरपश्चिम, मधेस र दलितलाई आन्दोलनको अगाडि राख्ने, तर सत्ताको कुर्सीमा फेरि सहरका ‘ब्रान्डेड अनुहार’ मात्र? यो खुला धोका हो।"
पत्रकार समा थापाको टिप्पणी:
"पुरानाले यो प्रणाली पैसा र नातेदारसँग साटे, आज नयाँले 'भाइरलिज्म'सँग साटे। विचार नबिक्ने समाजमा अनुहार बिकाउने होड मात्र देखियो।"
पुष १५, २०८२ मंगलबार २०:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।