'विधि र सुशासन'को वकालत गर्ने रास्वपाभित्रै मिचियो विधि : सर्वाधिक मत ल्याउने जैरु आउट भएपछि रामजी रामले भने 'मेरो नाम हटाएर राख्नु"

'विधि र सुशासन'को वकालत गर्ने रास्वपाभित्रै मिचियो विधि : सर्वाधिक मत ल्याउने जैरु आउट भएपछि रामजी रामले भने 'मेरो नाम हटाएर राख्नु

काठमाडौं : आन्तरिक 'प्राइमरी इलेक्सन'मार्फत समानुपातिक उम्मेदवार छनोट गरेको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीलाई लिएर असन्तुष्टि चुलिएको छ। दलित क्लस्टरमा सर्वाधिक १३ हजार १४३ मत मत ल्याएका विजय जैरुको नाम समानुपातिक बन्दसूचीमा परेको छैन। 

तर, प्राइमरी इलेक्सनमा १३ हजार ७३ मतसहित दोस्रो नम्बरमा रहेकी अमृता बिक, १२ हजार ७१० मत ल्याएर चौथो स्थानमा रहेकी स्मृति सेन्चुरी र ११ हजार ११५ मत सहित सातौं स्थानमा रहेका रूपक विश्वकर्मा घिमिरे रास्वपाको समानुपातिक बन्दसूचीमा परेका छन्। सातौं स्थानमा रहेका रूपक दलित क्लस्टरको पहिलो नम्बरमा समेटिँदा सर्वाधिक मत प्राप्त गरेका जैरु सूचीमै परेनन्।

रास्वपाको बन्दसूचीमा रहेका डा. रामजी रामले जैरु समानुपातिक सूचीमा नपरेपछि सार्वजनिक रूपमा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्राइमरी इलेक्सनको नतिजामा अनुसार उम्मेदवार सिफारिस नभएकोबारे जवाफ मागेका छन्। उम्मेदवार छनोटको आधार 'प्राइमरी इलेक्सन'लाई मान्ने घोषणा गरेको रास्वपाले पार्टीभित्र व्यक्त भएको मतलाई लत्याएर सूची हेरफेर गरिएकोप्रति उनले असन्तुष्टि जनाए। 

उनले भनेका छन्, 'लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको। अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराइ अग्र स्थान हासिल गरेका व्यक्तिहरू मत अनुसारको स्थान नभई माथि तल परेको देखियो भने दलितबाट सर्वाधिक मत ल्याउनु भएका विजय जैरुजीको नाम समानुपातिक लिस्ट मै देखिएन। प्राइमरी इलेक्सनलाई छनोटको आधार मानिएको हो होइन जवाफ चाहियो !'

'सिस्टम' र 'सुशासन'को कुरा गरिरहँदा पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई लत्याउनुले पार्टीको छविमा प्रश्न उठेको छ। रामजीले कम मत प्राप्त गरेको व्यक्ति समानुपातिक सूचीमा पर्नु तर, सर्वाधिक मत ल्याउने व्यक्ति नपर्दा लज्जा बोध भएको बताए। पार्टीमा लोकतान्त्रिक अभ्यासबाट छनोट भएका व्यक्तिलाई उचित स्थान दिनुपर्ने उनको भनाई छ। 

उनले अगाडि लेखेका छन्, "रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरु जिलाई स-सम्मान उचित स्थानमा राखौँ ! मेरो नाम त्यहाँ हुनु र वहाँको नाम लिस्टमै नहुनुले मलाई लज्जा बोध भयो! मलाई राख्नु परेकोले वहाँ नअट्नु भएको हो भने बरु म अन्य फरक भूमिकामा रहेर पनि देश र पार्टीलाई न्याय र सुशासनको खबरदारी गर्दै गरौंला! पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले नै साँचो अर्थमा पार्टी बलियो बनाउँछ!"

जैरुसँगै रास्वपाले प्राइमरीमा मत पाएका अन्य उम्मेदवारहरुको क्रमसंख्या समेत तलमाथि गरेको छ। निसर्त विवेकशील साझा पार्टी रास्वपामा विलय गर्न भुमिका खेलेकी रञ्जु दर्शना प्राइमरीमा महिलातर्फ सबैभन्दा धेरै मत पाउनेमा थिइन्। तर निर्वाचन आयोगमा बुझाएको सूचीमा उनी दसौं नम्बरमा धकेलिएर खसआर्य क्लस्टरमा नवौं र महिलातर्फ पाँचौं स्थानमा रहेकी रवि लामिछाने टिमकी प्रतिभा रावल अगाडि आइन्।

राजनीतिको सक्रियता हेर्ने हो भने रञ्जु विवेकशील अभियानहुँदै विवेकशीलसाझामा सक्रिय र काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरिसकेकी उम्मेदवार हुन्। तर रवि टिमले उनलाई पछाडि धकेलेर पहिलो नम्बरमा राजनीतिको अनुभवै नभएकी प्रतिभालाई ल्याए।

खसआर्य क्लस्टरका सर्वाधिक १८ हजार २ सय २३ मत पाएका रमेश प्रसाईं पाँचौं नम्बरमा पुग्दा विपिनकुमार आचार्य पहिलो नम्बरमा तानिए। यी दुबै रवि टिमकै सदस्य हुन्। प्राइमरी इलेक्सनको नतिजामा टप सूचीमै नअटाएकी सुम्निमा उदास आदीवासी जनजातीको तेस्रो नम्बरमा सिफारिस भइन्।

रास्वपाले समानुपातिक सूचीमा संविधानको भावना अनुसार पछि पारिएका सिमान्तकृत भन्दा पनि सेलिब्रिटी र ब्यापारीको सन्तानलाई प्राथमिकता दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

पुष १५, २०८२ मंगलबार १९:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।