कांग्रेसको समानुपातिकमा राष्ट्रपति रामचन्द्रको छोरीदेखि महामन्त्री गगनको ससुरासम्म

कांग्रेसको समानुपातिकमा राष्ट्रपति रामचन्द्रको छोरीदेखि महामन्त्री गगनको ससुरासम्म

काठमाडौं : नेपाली कांग्रेसले नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको सन्तानलाई समेटेको छ। मंगलबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा डा यादवका छोरा चन्द्रमोहन र रामचन्द्रकी छोरी संज्ञा पोखरेल पौडेलको नाम राखिएको हो।

यस अगाडि समानुपातिकमा रहेकाहरूलाई यस पटक समावेश गरिएको छैन। पार्टीको पदाधिकारीमध्ये एक जनाको नाम समेटियो। पार्टी राजनीतिमा पटक पटक लाभको पद पाइरहेका केही यस पटक पनि छुटेनन्। अबको निर्वाचनमा उम्मेदवार बन्दिन भनेर सार्वजनिक घोषणा गरेका नुवाकोटका नेता अर्जुन नरसिंह केसी पनि समानुपातिक सूचीमा अटेका छन्। उनी महामन्त्री गगन थापाका ससुरा हुन्।

केसीको नाम समानुपातिक सूचीमा राखेकोमा अहमती जनाउँदै थापाले सामाजिक सञ्जालमा लेखे ,'।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु,यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो।"

उनले यसबारे पार्टीको अग्रज नेताले समानुपातिक रोज्ने या नरोज्ने भन्नेबारे केसीसँग आफ्नो मत भिन्नता रहेको लेखेका छन्।

केसी लामो समयदेखि नेपाली कांग्रेसबाट सांसद भएका नेता हुन्। त्यसैगरि काठमाडौं क्षेत्र नम्बर ६ बाट सांसदहुँदै रक्षा मन्त्री समेत भइसकेका  भीमसेनदास प्रधान पनि समानुपातिक सूचीमा रहेका छन्। वर्तमान पदाधिकारीमध्ये सह-महामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र समानुपातिक सूचीमा छ। सांसद बन्दै आएका रोमी गौचन थकालीको नाम पनि समानुपातिक सूचीमा रहेको छ।

एक सय १० जना समानुपातिक सूचीमा रहेका अन्यमा नयाँ र युवाहरुलाई पार्टीले प्राथमिकता दिएको छ। गत वर्ष पार्टी सभापती शेरबहादुर देउवाको श्रीमती आरजु राणा, बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण लगायतकाहरुलाई समानुपातिकमा राखिएको थियो। 

पुष १५, २०८२ मंगलबार १८:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।