प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ ६४ दल चुनावी प्रतिस्पर्धामा, १८ दलले मात्र दिए पुरै सिटमा उम्मेदवारी
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ६४ वटा राजनीतिक दलले मात्र बन्दसूची बुझाए। निर्वाचन आयोगका अनुसार यी दलहरूमध्ये पनि जम्मा ५८ वटा निर्वाचन चिह्नका आधारमा चुनाव लड्ने तयारी गरेका छन्।
प्रतिनिधिसभाको २७५ सदस्यीय सदनमध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन्। सूची बुझाएका दलहरूमध्ये ५४ वटाले आफ्नै निर्वाचन चिह्न लिएर प्रतिस्पर्धा गर्दैछन् भने १० वटा दलले ४ वटा सामूहिक निर्वाचन चिह्न प्रयोग गरी चुनावी मैदानमा उत्रिएका छन्।
पुरै सिटमा उम्मेदवारी दिने १८ दल
समानुपातिकमा कम्तीमा ११ र बढीमा ११० जना उम्मेदवारको नामावली बुझाउनुपर्ने कानुनी व्यवस्था छ। त्यसमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा लगायतका १८ वटा दलले मात्रै ११० सिटमा उम्मेदवारी दिएका छन्।
८ वटा दलले ३ वटा फरक चुनाव चिह्नमा संयुक्त रूपमा ११० सिटमै उम्मेदवारी दिएका छन्। ६ वटा दलले न्यूनतम सीमा अर्थात् ११ जनाको मात्रै नामावली बुझाएका छन्।
११० सिटमै उम्मेदवारी दिने दलहरू
नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा , लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माले), श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, मितेरी पार्टी नेपाल, नेपाली जनता दल र नेकपा (संयुक्त)।
संयुक्त चुनाव चिह्न प्रयोग गर्ने दलहरू
-मोबाइल चिह्न: आम जनता पार्टी र जनादेश पार्टी।
-बस चिह्न: नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी।
-जाँतो चिह्न: राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी।
-जकर भएको सिंह चिह्न: नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल
न्यून उम्मेदवारी दिने दलहरू (११ देखि २० जना सम्म)
- ११ जना (न्यूनतम): गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टी, स्वाभिमान पार्टी, जनअधिकार पार्टी, नेपाली कांग्रेस (बीपी) र नेपाली जनश्रमदान संस्कृति पार्टी।
- १२ जना : जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल।
- १७-१८ जना : नेपाल जनता संरक्षण पार्टी (१७) र पिपुल फस्ट पार्टी (१८)।
- २० जना : नेकपा मार्क्सवादी (पुष्पलाल), नेपाल मातृभूमि पार्टी र बहुजन शक्ति पार्टी।
अन्य दलहरूको उम्मेदवारी संख्या
- २२ देखि २५ जना: उन्नत लोकतन्त्र पार्टी (२२), त्रिमूल नेपाल (२३), नागरिक शक्ति नेपाल (२५), जनता लोकतान्त्रिक पार्टी नेपाल (२५) र राष्ट्रिय गौरव पार्टी (२५)।
- २७ देखि ४९ जना: राष्ट्रिय मुक्ति आन्दोलन (२७), सार्वभौम नागरिक पार्टी (२८), नेसनल रिपब्लिक नेपाल (२९), समावेशी समाजवादी पार्टी (३१ र ३२), राष्ट्र निर्माण पार्टी (३५), प्रजातान्त्रिक पार्टी नेपाल (४१), नेपालको लागि नेपाली पार्टी (४३), राष्ट्रिय ऊर्जाशील पार्टी (४६) र राष्ट्रिय परिवर्तन पार्टी (४९)।
-५० भन्दा माथि : जय मातृभूमि पार्टी (५५), नेपाल जनता पार्टी (६०), संयुक्त नागरिक पार्टी (६१) र जनता समाजवादी पार्टी नेपाल (१०१)।
आरक्षण र समावेशी क्लस्टर
आयोगले यसपालि समानुपातिक उम्मेदवारीमा ५० प्रतिशत महिला अनिवार्य गरेको छ। त्यसमा सातवटा क्लस्टरअनुसार उम्मेदवारको प्रतिशत समेत तोकेको थियो।

पुष १५, २०८२ मंगलबार १७:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।