रवि, बालेन र कुलमानको सहकार्यप्रति ओलीको कटाक्ष : स्यालले मोर्चा गरेर सिंहको सिकार हुन्छ र ?

रवि, बालेन र कुलमानको सहकार्यप्रति ओलीको कटाक्ष : स्यालले मोर्चा गरेर सिंहको सिकार हुन्छ र ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय भइरहेको विभिन्न दलहरूबीचको एकतालाई 'दुब्लाहरूको छटपटी'को संज्ञा दिएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित 'एमालेको ११ औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेको विशालता देखेर अत्तालिएकाहरूले अस्तित्व जोगाउन मोर्चाबन्दी गरिरहेको टिप्पणी गरे।

उनले भने, ‘यसो हेर्दा विशाल एमाले देखेपछि तिमी र म मिलौं भन्या छ, ऊसँग पनि मिलौं भन्या छ। विशाल एमालेसँग भिड्नु छ, अनि मिलौं भनिएको छ। कुखुरा र बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको सिकार हुन्छ र ? प्रतिस्पर्धा हुन्छ ? दुब्लाको काम नै मोर्चा गर्ने हो। बलियासँग लड्नको लागि दुब्लाले गर्ने नै एकता हो, आज पनि एउटा एकता हुन्छ रातिसम्ममा, भोलि पनि हुन्छ।’

पछिल्लो समय माओवादी केन्द्रसहितका वामपन्थी घटक र रास्वपा लगायतका दलहरूले चलाएको एकता र सहकार्यको प्रयासलाई लक्षित गर्दै ओलीले निकै आक्रामक रूपमा प्रस्तुत भए। केही नेताहरूले चुनाव आउनु अगावै आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेको प्रति पनि उनले कटाक्ष गरे।

उनले भने, ‘महाधिवेशनले अर्को एउटा अवसरमा जवाफ दिने प्रतीक्षाका साथ तयारी पनि गरेको छ। त्यो भनेको देशमा को लोकप्रिय छ भन्ने अलिकति चर्चा निर्वाचनसम्म नै रहन्छ। प्रधानमन्त्री बनाइसके मान्छेले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला वा वैशाखमा होला वा अर्को मंसिरमा होला हामी पर्खिरहेका छौं।’

पार्टी महाधिवेशनले धेरै कुराहरूको जवाफ दिएको र अब निर्वाचनबाट पनि एमालेले राष्ट्रिय फैसला दिने उनको दाबी छ। निर्वाचनको लागि एमाले तयार रहेको सन्देश महाधिवेशनले दिइसकेको उनको भनाई छ।

पुष १५, २०८२ मंगलबार १७:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।