दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले भनिन्- शान्ति कायम राख्ने अभियानमा साथ दिनुस्
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता दुर्गा प्रसाईंसँग जोड दिएकी छन्। बालुवाटारमा मंगलबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईंसँगको भेटमा उनले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताइन्।
कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा जोड दिइन्। उनले अभियन्ता प्रसाईंका कैयौं माग जनताका पक्षमा रहेकाले तिनलाई सम्बोधन गर्न सरकारले गृहकार्य गरिरहेको स्पष्ट गर्दै आफ्ना असन्तुष्टि र माग मुद्दाहरू शान्तिपूर्ण तरिकाले राख्न अनुरोध गरिन्।
मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै उनले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन्। 'धेरै अप्ठ्यारो अवस्थाबाट देशलाई अहिलेको अवस्थामा ल्याएका छौं, सम्बद्ध सबै पक्षको साथ सहयोगमा तोकिएको मितिमा निर्वाचन सम्पन्न गराएर देशलाई राजनीतिक निकास दिन अहोरात्र खटिएका छौं,' उनले भनिन्, 'सबै किसिमका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं र सक्रिय रूपमा सहभागी भई निर्वाचनलाई सफल बनाऔं।'
सरकार भ्रष्टाचारको अन्त्य र पीडित वर्गलाई न्याय दिन क्रियाशील रहेको बताउँदै कार्कीले भनिन्, 'हामी पनि न्यायका पक्षधर हौं, सत्ताभोग र सुखसयल गर्न सरकारमा आएका होइनौं। भ्रष्टाचारको अन्त्य, शोषित-पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौं। सबै कामको नतिजा रातारात नदेखिए पनि आधारशिला तयार गरेका छौं।'
पुष १५, २०८२ मंगलबार १४:३२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।