बालेनसँगै लतारिएका कुलमान
काठमाडौं : पार्टी नेतृत्व, नाम वा चुनाव चिन्हमध्ये एक नबदलिई राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्न नसकिने अडान राखेका कुलमान घिसिङ अन्तमा सोमबार नेतृत्व, नाम र चुनाव चिन्ह तीनै रास्वपाकै स्वीकार गर्दै विलय हुन राजी भए।
उज्यालो नेपाल पार्टी दर्ता गराए पनि खुलेर नेतृत्व लिन नसकेका उनी रास्वपामा आफ्नो पार्टीको कुनै न कुनै प्रतिनिधित्व होस् भन्ने पक्षमा थिए।
त्यसैले आगामी निर्वाचनमा आफ्नो मुख्य सहयोगी हुने विश्वासमा रहेका बालेन शाह प्रधानमन्त्रीको उम्मेदवारको वाचामा निशर्त रास्वपासँग मिल्दा पनि उनी अस्तित्व नै मेटेर जान नसक्ने भन्दै बाहिरै बसे। रवि र बालेनले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरे।
बालेनसँग एकताको वार्तामा रहेको रास्वपाका नेताहरूले कुलमानलाई त्यति महत्त्व दिएका थिएनन्। उनीहरू बालेनलाई मनाउनमै केन्द्रित थिए। त्यसको कारण उनीहरूले कुलमानलाई एकतामा ल्याउन नचाहेका हैनन्। बालेन सहमतिमा नआए कुलमानसँग मात्र सहमति हुन नसक्ने तर बालेन आए कुलमान लतारिएरै भए पनि आउनेमा उनीहरू विश्वस्त थिए। त्यसैले पहिलो चरणमा सबै शक्ति बालेन मिलाउनै लगाए।
रातभरको छलफलपछि बिहानै बालेनसँग सहमति भयो। कुलमान बाहिरै रहे। कुलमान उज्यालो नेपाल पार्टीबाटै मूलधारको राजनीतिमा प्रतिस्पर्धा गर्ने तयारीमा लागे। यो बिचमा सुधन गुरुङ एकाएक सक्रिय भए। सोमबार समानुपातिक उम्मेदवारको सूची बुझाउने अन्तिम दिन भएकाले आइतबार बेलुका पुन बालेन, रवि र कुलमान छलफलमा बसे पनि सहमति हुन सकेन। मध्यरात १ बजे सुधनले बाहिरै बसेको कि राख्न खोजेको हो समयले बताउला भन्दै फेसबुकमा लेख्दै कुलमानलाई समेट्न नखोजेको भन्दै असन्तुष्ट देखिए।
सोमबार मध्यान्हसम्म दुवै पक्ष समानुपातिक उम्मेदवारको सूची बनाउन व्यस्त भएको बेलामा बौद्धको एक होटलमा रहेका कुलमानलाई एक पटक वार्तामा बसौँ भनेर सुधनले लगेपछि कुलमान आफ्नो अडानबाट पछि हट्दै उज्यालो नेपालको सबै पहिचान, नेतृत्व, दलको नाम, झन्डा, चुनाव चिन्ह र केन्द्रीय कार्यालयसम्म रास्वपाकै स्वीकार गरेर विलय हुन राजी भए।
बालेनसँग सहमती हुनु तर कुलमानसँग सहमति हुन नसक्नुको मुख्य कारण उनले पार्टी नेतृत्वमा दाबी गर्नु मुख्य रहेको रास्वपाकै उपाध्यक्ष स्वर्णिम वाग्लेले खुलाएका थिए। मूल कारण पनि त्यही देखिएको थियो।
सोमबार बेलुका सहमति हुँदा भने उनले सहजै रविलाई सभापति स्वीकार गर्दै उनीपछिको वरीयतासहित उपाध्यक्ष हुन राजी भए। उज्यालो आर्थिक अभियान शब्दमा उनले चित्त बुझाए।
यो सँगै अबको निर्वाचनमा अलग राजनीतिक दलसहित निर्वाचनमा जाने तयारीमा रहेको दुई शक्ति एक भएका छन्। त्यसमा बालेन समेत मिसिँदा रास्वपा आगामी निर्वाचनमा स्थापित दलका लागि बलियो चुनौती बन्ने देखिन्छ।
तर एकताले मात्र कुनै दल बलियो बन्न सक्दैन। दल बलियो बनाउने नेता, नेतृत्व, नीति स्विकार्दै हुने एकताले नै हो। तीनपक्ष मिल्दा पनि रास्वपामा यो पक्ष भने कमजोर देखिन्छ।
यसमा कुलमान मिसिएपछि कतै दलभित्र एकता भन्दा पनि दरार बढ्ने त हैन भन्ने शंका गर्नुपर्ने आधार पनि टन्नै देखिन्छ। त्यसको केन्द्रमा बालेन भन्दा कुलमान फ्याक्टरै प्रमुख देखिन्छ।
रवि लामिछाने सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहँदा नै कुलमानलाई रास्वपाको सभापति बनाउन गृहकार्य अगाडि बढेको थियो। यसमा मुख्य शक्ति बालेन नै थिए। रास्वपाबाट बालेनलाई पार्टीमा आउन गएको निमन्त्रणामा उनले आफू पाँच वर्ष मेयरकै रूपमा काम गर्ने भन्दै कुलमानलाई अगाडि सारेका थिए।
त्यसपछि धेरै चरणमा कुलमानसँग छलफल भयो। कुलमानले आफू सभापति र रवि संरक्षक हुने मोडलबाट तल जान चाहेनन्। रास्वपाका नेताहरूले प्यारासुट शैलीको नेतृत्व स्वीकार गर्न नसकिने अडान लिएपछि कुलमानको प्रयास सफल भएन।
पार्टी सभापतिको रूपमा रास्वपामा प्रवेश गर्ने प्रयास सफल नभएपछि रविलाई सभापतिकै रूपमा स्वीकार गर्ने तर रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा कुलमानलाई घोषणा गरेर जानुपर्ने सर्त आयो। त्यसबारे पनि लामै छलफल चल्यो। तर सहमति हुन सकेन।
त्यसपछि नै उनले उज्यालो नेपाल पार्टी गठन गराए। त्यो बेलामा पनि सुमना श्रेष्ठसहितले ब्यक्ती केन्द्रित दल नबनाउन आग्रह गरे पनि कुलमानले मानेनन्।
पार्टी गठन अगाडि उनले आफूलाई बालेनको साथ रहेको सन्देश दिन उनीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। बालेनको सदाशयता देखियो।
जब रवि बिगो स्वीकार भएर थुनामुक्त भए त्यसपछि राजनीतिक माहौल नै बदलियो। कुलमानले राजनीतिक माहोल बनाउन सकेनन्। एमाले अध्यक्षमा केपी ओली तेहरिएपछि बालेन समूह उनलाई शक्तीमा फर्कन नदिने रणनीतिमा लाग्यो।
भदौ २४ मा मौका छोपेर जेल बाहिर निस्कदा १५ हजार कैदी-बन्दी फरार हुनुको दोषको भारीले थिचिएका रवि यसबाट उम्कन बलियो साथको खोजिमा बालेनसम्म पुगे।
पहिला रास्वपाले बालेनलाई समूह हैन ब्यक्ती प्रवेश गराउने रणणिति बनाएपछि बालेनले राजनीतिक संवाद र देश विकास पार्टी सक्रिय गराउने भनेर दवाव बढाए। रास्वपा बालेनलाई एकल नभई समुहको रूपमा स्विकार गर्न राजी भयो। बालेन रास्वपामा गए।
अब मुख्य भरोसा गरेका बालेनै गएपछि कुलमान पनि अलग टिक्न सकेनन्। त्यसमा जेनजीकै सुधन पनि मिल्न दवाव दिन सक्रिय भए।
अनि रास्वपाका नेताहरूको पूर्वानुमान अनुसारै उनी लतारिँदै सभापति र भावी प्रधानमन्त्री दुवै अडान छाडेर उपसभापतिमै चित्त बुझाएर रास्वपामा विलीन हुन सहमत भए।
पहिला ठुलै पदमा माहौल बनाउने तर पछि जे उपलब्धि आइलाग्छ त्यही स्विकार्ने उनको स्वभाव त सुशीला कार्की नेतृत्वको सरकार बन्दा नै देखिएको थियो। उनको नाम केही जेनजीहरुले प्रधानमन्त्रीको रूपमा अगाडि बढाएका थिए। कुलमानले यदि विश्वास गर्ने हो भने आफू तयार भएकोसम्म प्रतिक्रिया दिएका थिए।
जब डिस्कर्डहुँदै प्रधानमन्त्रीमा सुशीला कार्कीको पक्षमा बलियो माहोल बन्यो अनि कुलमान मन्त्री बन्न स्वीकार गरे। त्यो पनि बरीयतामा रामेश्वर खनालभन्दा तलै। उनलाई मन्त्री बनाउनुमा पनि सुशीलाको रोजाई भन्दा बढी बाध्यता देखियो। कुलमानलाई मन्त्री नबनाएको भए सरकार नै नबन्ने जोखिम भएकाले उनलाई मन्त्री बनाएको सुशीलाले अभिव्यक्ति नै दिएकी थिइन्। उनले अझै कारण भने खुलाएकी छैनन्।
बालेन रास्वपामा सहभागी हुन सहमत हुनुमा आगामी निर्वाचनमा नेपाली कांग्रेस, एमाले वा नेपाली कम्युनिस्ट पार्टीलाई निर्णायक दल बन्नबाट रोक्ने लक्ष्यले बढी काम गरेको देखिन्छ।त्यसमा पनि जेनजी आन्दोलनबारे ओलीको अभिब्यक्तीप्रति उनी रिसाएका छन्। उनी पुन ओलीलाई सत्ता शक्तीमा फर्कनबाट रोक्न चाहन्छन्।
त्यसमा आफ्नो साथले यदि रास्वपा सरकार बनाउन सक्ने हैसियतमा पुगे अन्यलाई किन प्रधानमन्त्री बन्न दिने भनेर उनले सम्भावित उपलब्धि आफ्नै पक्षमा राख्न चाहे।
तर कुलमानको मिलन भने प्रस्ट लक्ष्य भन्दा पनि बढी बाध्यता देखिन्छ। पहिलो बाध्यता जति प्रयास गर्दा पनि उज्यालो नेपाल पार्टीको पक्षमा आकर्षण निर्माण गर्न नसक्नु नै देखिन्छ।
बरु हर्क साम्पाङले आफ्नो पार्टीको पक्षमा माहोल बनाए। त्यति पनि सकेनन् कुलमानले। दोस्रो बालेनले साथ दिएमा उनको बलमा निर्वाचनमा राम्रै नतिजा आउने आशमा थिए। बालेन पनि रहेनन्।सुधन पनि रहेनन्। त्यो अवस्थामा निर्वाचनमा गएर जोकर बन्नु भन्दा तत्कालका लागि रास्वपामा मिल्नु नै सेफ ल्यान्डिङ हुने निष्कर्षले उनी पूर्ववत् सबै अडान छाड्न राजी भएको प्रस्ट देखिन्छ।
जहाँ एकतामा स्वेच्छा भन्दा बाध्यता हाबी हुन्छ त्यहाँ कलहको जोखिम सधैँ रहन्छ। तीन नेता एकै दलको छानोमा त आए। तर सँगै कलहको जोखिम पनि बोकेर।
पुष १४, २०८२ सोमबार २३:५१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।