रास्वपाको ‘प्राइमरी इलेक्सन’मा सर्वाधिक मत ल्याउने पाँच उम्मेदवार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न सञ्चालन गरेको आन्तरिक ‘प्राइमरी इलेक्सन’को नतिजा सार्वजनिक गरेको छ। मोबाइल एपमार्फत भएको मतदानमा खस-आर्य क्लस्टरका रमेश प्रसाईंले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।
रास्वपाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका हुन्। त्यस्तै, थारु क्लस्टरबाट प्रेमलाल चौधरी १७ हजार ४२५, जनजाति क्लस्टरका उत्तमबहादुर गुरुङ १६ हजार १२, मुस्लिम क्लस्टरकी समिना मियाँले १५ हजार ९६७ र मधेसी क्लस्टरतर्फ पुनमकुमारी अग्रवाल १५ हजार ७४५ सहित सर्वाधिक मत प्राप्त गरेका छन्।
रास्वपाले खस-आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम गरी ६ वटा क्लस्टरका शीर्ष ९-९ जना (कुल ५४ जना) को नामावली मात्र सार्वजनिक गरेको छ। पार्टी सदस्यहरूका लागि आज बिहान १० बजेसम्म मतदानको समय सीमा तोकिएको थियो।
काठमाडौं महानगरका प्रमुख बालेन शाहको पक्षसँग भएको भनिएको राजनीतिक समझदारीका कारण सबै नाम सार्वजनिक नगरिएको बताइएको छ। निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन आजै भए पनि अहिलेसम्म रास्वपाले बन्दसूची बुझाइ सकेको छैन।
२०७९ सालको निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गर्दै रास्वपाले १३ सिट जितेको थियो। समानुपातिक निर्वाचन प्रणालीमा देशभरलाई एउटै निर्वाचन क्षेत्र मानिन्छ र दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत कटाउनुपर्ने कानुनी प्रावधान छ।
पुष १४, २०८२ सोमबार १९:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।