जाँचबुझ आयोगमा बयान दिएपछि लेखकले भने- तत्कालीन गृहमन्त्रीको हैसियतमा जवाफदेही छु
काठमाडौं : कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी पुस्ताले अघि सारेका मागहरू सान्दर्भिक र जायज रहेको बताएका छन्। सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजीले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दाहरू महत्त्वपूर्ण रहेको बताए।
सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र सुशासनको ग्यारेन्टी जेनजी मात्र नभई सबै नेपालीको माग रहेको उनको भनाइ थियो। ‘भ्रष्टाचार नियन्त्रण, सुशासनको ग्यारेन्टी र तत्काल सामाजिक सञ्जालमा गरिएको नियन्त्रणलाई फुकुवा गर्ने मुख्य माग राखेर उहाँहरूले प्रदर्शन गर्नुभएको थियो, जुन उहाँहरूको मात्र माग होइन, सबै नेपालीको जनभावना त्यसमा समेटिएको थियो,’ लेखकले भने।
उनले लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक पद धारण गरेको व्यक्ति प्रश्नहरूबाट भाग्न नमिल्ने बताए। आयोगमा दिएको बयानका सन्दर्भमा उनले शासकीय पदमा रहँदा उठेका हरेक प्रश्नको जवाफ दिनु राज्यको दायित्व भएको बताए।
लेखकले भने, ‘लोकतन्त्रमा जबाफदेहिता एउटा महत्त्वपूर्ण विषय हो। हामी सार्वजनिक पदमा अथवा शासकीय पदमा राज्यका राजकीय पदमा कुनै पनि प्रश्न उठ्यो भने त्यो त्यो प्रश्नको जवाफ दिनुपर्छ। यो लोकतन्त्रको आधारभूत मान्यता भएकोले र जेनजी आन्दोलनबारे प्रश्न उठेको हुनाले म तत्कालीन गृहमन्त्री भएको हुनाले मैले जवाफ दिनुपर्छ।’
पुष १४, २०८२ सोमबार १५:४०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।