जेनजी आन्दोलनबारे रमेश लेखकको बयान “आन्दोलन हाइज्याक गरेर लोकतन्त्रमाथिको आक्रमण, बल प्रयोगको आदेश दिइन”
काठमाडौँ : जेनजी आन्दोलनताकाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा ६ पन्ने लिखित धारणा राख्दै आफूले तत्कालीन गृहमन्त्रीको हैसियतमा कुनै पनि 'बल प्रयोग' गर्ने आदेश नदिएको र सुरक्षा निकायलाई 'हताहत (क्याजल्टी) नहोस्' भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन्।
उनले दुवै दिनको घटनाहरूलाई 'सुनियोजित षडयन्त्र' र 'लोकतन्त्रमाथिको आक्रमण' को संज्ञा दिए। लेखकले भदौ २४ का घटनाहरू तत्कालीन आवेगको मात्र उपज नभई राज्यका ऐतिहासिक र अमूल्य संरचनाहरू नष्ट गर्ने पूर्व तयारीका साथ गरिएको सुनियोजित षडयन्त्र भएको दाबी गरे।
भदौ २३ मा जेन-जी समूहले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा लोकतन्त्र विरोधी तत्त्वहरूले 'घुसपैठ' गरी हिंसा भड्काएको उनले दाबी गरेका छन्।
राज्यका तीनै अंग (कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका) का भवनहरू जलाउनु कुनै नेपाली मनले सोच्न नसक्ने कुरा भएको र यसले देशको स्वाभिमानमा चोट पुर्याएको उनको लिखित बयानमा उल्लेख छ।
सुरक्षा व्यवस्था र निर्देशन सम्बन्धी
उनले तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले कुनै पनि 'बल प्रयोग' गर्ने आदेश नदिएको र सुरक्षा निकायलाई 'हताहत (क्याजल्टी) नहोस्' भनी स्पष्ट निर्देशन दिएको उल्लेख गरे।
भदौ २२ गते साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सबै निकायबीच समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको र प्रधानमन्त्रीलाई समेत यसबारे जानकारी गराइएको उनले उल्लेख गरेका छन्।
भदौ २४ को आक्रमणका क्रममा अक्सिजन लिइरहेकी आफ्नी बिरामी आमालाई समयमै अस्पताल पुर्याउन नसक्दा केही दिनपछि उनको मृत्यु भएको र काठमाडौं तथा महेन्द्रनगरस्थित घरहरू आगो लगाएर नष्ट गरिएको लेखकले उल्लेख गरेका छन्।
उनले आफ्नो घरमा गराइएको आगलागीले १० वर्षे द्वन्द्वदेखि संविधान निर्माणसम्मका महत्वपूर्ण ५ हजार पुस्तक र ऐतिहासिक दस्ताबेजहरू जलेर खरानी भएको बताए।
कानुनी प्रश्न र राजीनामा
भदौ २३ को प्रदर्शनमा मानवीय क्षति भएपछि आफूले 'नैतिक जिम्मेवारी' लिँदै तत्कालै पदबाट राजीनामा दिएको र सरकारले बिना जानकारी आफ्नो राहदानी रोक्का गरेको र उपत्यका बाहिर जान रोक (स्थानहद) लगाएकोमा आपत्ति जनाए।
उनले आयोगको यस्तो गतिविधि 'स्वच्छ सुनुवाइको सिद्धान्त' विपरीत रहेको आरोप समेत लगाए।
पुष १४, २०८२ सोमबार १५:२५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।