रास्वपा र बालेन शाहबीचको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाह (बालेन) सँगको ‘बृहत एकता’ सम्बन्धी सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले ‘राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन्द्र शाहबीच बृहत एकता सम्बन्धी सहमति’ माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, बैठकले यो सहमतिलाई 'ऐतिहासिक' भन्दै अनुमोदन गरेको छ। महामन्त्री बुर्लाकोटीले जानकारी दिएअनुसार, रास्वपाले यो सहमतिलाई राष्ट्र हितका लागि गरिएको ‘बृहत आँट, त्याग र आशा’को प्रतिबिम्बका रूपमा व्याख्या गरेको छ।
रास्वपाले यो एकता मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्नेतर्फ उन्मुख हुने अपेक्षा राखेको छ।
केन्द्रीय समितिले उक्त ‘बृहत एकता’ सम्बन्धी सहमतिको सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए। यो निर्णयसँगै रास्वपा र बालेन शाह आगामी राजनीतिक यात्रामा एकताबद्ध भएर अघि बढ्ने बाटो खुलेको छ।
पुष १४, २०८२ सोमबार ०७:५१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।