प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो।
निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरूले आजसम्ममा आफ्नो बन्दसूची आयोगमा पेश गरिसक्नुपर्नेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दलहरूले पुस १३ र १४ गते पेश गरेको बन्दसूचीमाथि आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्नेछ।
छानबिनपछि सूचीमा कुनै त्रुटि भएमा वा सच्याउनुपर्ने अवस्था भएमा दलहरूलाई पुस २१ देखि २७ गतेसम्मको समय दिइने कार्यतालिका रहेको छ।
दलहरूले सच्याएर पठाएको सूची ठीक छ वा छैन भनी आयोगले पुस २८ देखि माघ ३ गतेसम्म पुनः जाँचबुझ गर्नेछ। त्यसपछि माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ।
प्रवक्ता भट्टराईका अनुसार, सबै प्रक्रिया पूरा गरी माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ।
पुष १४, २०८२ सोमबार ०७:३२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।