बालेन-रवि मिलनबाट झस्किएका हर्क : १४ घण्टामा १७ पोस्ट, घोचपेच र आरोपको वर्षा

बालेन-रवि मिलनबाट झस्किएका हर्क : १४ घण्टामा १७ पोस्ट, घोचपेच र आरोपको वर्षा

काठमाडौं : स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकाको मेयर भएका बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएसँगै विभिन्न दलका नेताहरूबाट अनेक प्रतिक्रिया आइरहेका छन्। कसैले शुभकामना दिएका छन्, केहीले आलोचना गरेका छन्।

बालेन जसरी नै स्वतन्त्र उम्मेदवार बनेर मेयर भएका हर्क साम्पाङ पनि अहिले चुनावी मैदानमा छन्। रवि, बालेन अनि कुलमान घिसिङमाथि तिखो टिप्पणी गर्दै आएका उनी आइतबार बिहानैबाट सामाजिक सञ्जालमा सक्रिय भए।

१४ घण्टाको बिचमा उनले फेसबुकमा १७ वटा पोस्ट गरिसकेका छन्। त्यसमा अधिकांश बालेन र रास्वपाबीच भएको एकताको आलोचनासँगै बालेनको आलोचनामा केन्द्रित छन्। बिहानको प्रारम्भ भिडियो सन्देशबाट गरेका उनले साढे आठ बजे लेखेका छन् “ठगेर खानेहरूलाई होइन काम गरेर खानेहरूलाई देश सुम्पनु होला! सहकारी पीडित र सुकुम्वासीहरूले त झन् साह्रो नै माटोलाई भोट दिनु पर्छ है!”

उनले बिहानै भिडियो सन्देशमा लुकेर देश खरानी बनाउने गेमरलाई हरेक नेपालीले प्रश्न सोध्नु होला ! भन्दै बालेन लक्षित धारणा राखेका थिए। उनले बालेनको नाम भने लिएका छैनन्।

भिडियोमा उनले मिडियाको क्लिपहरू देखेको भन्दै भन्छन् “एक विदेशी दलाल जो भित्रभित्रै लुकेर खेल खेल्छ। डरलाग्दो खेल खेल्छ। जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ। जब ७०-८० जना मान्छे हताहत हुन्छन्, सयौँ घाइते हुन्छन्। जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ। खरानी भएको देश मुसुमुसु हेरेर हाँसिरहन्छ,” उनले भनेका छन् “सरकार चलाइदिनुपर्यो भनेर जेनजीले आग्रह गर्दा बाहिर आउँदैन। विदेशीको सेटिङमा आफ्नै सरकार बनाउँछ। एकथान चुनाव बाहेक अरू कुरा गर्दैन। जेनजीको कुनै माग पुरा गर्दैन। त्यस्तो खालको व्यक्ति को होला?”

उनले त्यस्तो व्यक्ति सहकारी ठगीमा, एमसिसीमा जोडिएका मान्छेहरूसँग मिलेर चुनावमा आउने सुनेको भन्दै सिंहदरबार किन जलाएको, जेनजीको शव टुलुटुलु किन हेरेको भनेर प्रश्न गर्न आग्रह गरेका थिए।

उनले यो बिचमा “मुख्य एजेन्डा को पहिले प्रधानमन्त्री बन्ने भन्ने, दिन रात बैठक बस्नेहरू देख्दा हाँस उठ्छ बेस्सरी! एजेन्डा आफ्नो आफ्नो !” भन्दै लेखे।

यतिमै उनी रोकिँदैनन्। लेख्छन् “श्रम संस्कृतिले ल्याउने छ बहुमत! अरू त मिडिया ट्रायल मात्रै हो! जनतामा जानु कता हो कता प्रधानमन्त्री रे!”

किन रिसाएका छन् हर्क ?

जेनजी आन्दोलन अगाडिसम्म बालेन र हर्कको सम्बन्ध राम्रै थियो। बालेन धरान उपमहानगरपालिकाको स्थापना दिवसमा अतिथिसमेत भएर गएका थिए। काठमाडौं आउँदा दुवैको भेट हुन्थ्यो।

जेनजी आन्दोलनको बलमा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै प्रधानसेनापतिको अगुवाइमा प्रधानमन्त्रीको खोजी हुँदा हर्क धरानबाट काठमाडौं आएर आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा पेस गरेका थिए। त्यो बेलामा कुलमान घिसिङको नाम पनि प्रधानमन्त्रीको रूपमा चर्चामा थियो। तर सुशीला कार्की प्रधानमन्त्री बनिन्।

कुलमान मन्त्री बन्दा हर्कले त्यो पनि पाएनन्। त्यसपछि रिसाएर उनी धरान फर्किए। आफूलाई बालेन र कुलमान मिलेर मन्त्री पनि हुन नदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना गर्न थालेपछि बालेन शाहले आइलभयू हर्क समेत लेखेका थिए। तर त्यसले सम्बन्ध सुध्रिएन।

जब फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ दल दर्ता खुलायो हर्क समर्थकसहित काठमाडौं आएर आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिए। दर्ता पनि भयो। त्यसपछि उनी अहिले चुनावी सभामा केन्द्रित छन्। प्राय सभामा उनी कुलमान अनि बालेनलाई प्रहार गरिरहन्छन्। पछिल्लो समय भने उनले रविलाई पनि सहकारी ठगीमा जोडेर आलोचना गर्ने गरेका छन्।

रवि र बालेनबीच एकताबारे छलफल हुँदा बालेनले कुलमान र हर्कसँग पनि छलफल गर्ने बताएका थिए। कुलमानसँग छलफल भयो। तर कुरा मिलेन। हर्कले सार्वजनिक रुपमै कसैसँग पार्टी एकता नगर्ने र फोन आए पनि नउठाउने भने। उनी छलफलमा जोडिएनन्। बालेन र रविबीच मात्रै एकताको सहमति भयो।

पुष १३, २०८२ आइतबार २०:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।