व्यवसायी अन्जुको प्रसव पीडा र खुसी : कलिलैमा आमा बनेर हो की अर्को सन्तान जन्माउने आँट नै आएन

व्यवसायी अन्जुको प्रसव पीडा र खुसी : कलिलैमा आमा बनेर हो की अर्को सन्तान जन्माउने आँट नै आएन

व्यवसायी अन्जु राई थापामगरका लागि सानै उमेरमा विवाह हुनु र लगत्तै आमा बन्नु निकै चुनौतीपूर्ण भयो। त्यसमाथि उनी गर्भवती हुँदा श्रीमान् दुर्घटनामा परेर लामो समय वैशाखीको सहारामा बस्नुपर्यो।

आफूलाई स्याहार्नुपर्ने समयमा उनले श्रीमानको स्याहार गर्नुपर्यो। सम्भव भएसम्म श्रीमानले साथ नै दिए। सन्तान जन्मिएकै दिन श्रीमानले वैशाखीबाट छुटकारा पाए। त्यसैले पनि उनीहरूले सन्तानलाई लक्की मान्छन्।

अहिले दुवै श्रीमान्-श्रीमती मिलेर निर्माणसम्बन्धी व्यवसायमा सक्रिय छन्। एक दशक लामो समयदेखि व्यवसायमा जोडिनुअघि अन्जु कस्मेटिक र थकाली खानाको व्यवसायमा संलग्न थिइन्। तेक्वान्दो खेलाडीसमेत रहेकी उनी प्रहरीमा भर्ना हुनै लागिसकेकी थिइन्।

तर विभिन्न कारणले उनको त्यो सपना भने पूरा भएन। त्यसैले उनीहरूले आफ्नो सन्तानलाई लाहुरे बनाउने सपना देखेका छन्।

उनै व्यवसायी अन्जुले उकेराको साप्ताहिक स्तम्भ 'प्रसव पीडा र खुसी' मा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन्:

OOO

हाम्रो पुर्ख्यौली घर सोलुखुम्बु भए पनि म कुपण्डोलमा जन्मिएँ र यतै हुर्किएँ। मेरो माइतीको बुबा 'हेड सेफ' हुनुहुन्छ। हाम्रो आफ्नै रेस्टुरेन्ट पहिलेदेखि नै थियो। म र मेरो भाइ सुखमै हुर्कियौँ। तर आफ्नै केही गर्नुपर्छ, अरूको अगाडि केही बनेर देखाउनुपर्छ भन्ने सानैदेखि लाग्थ्यो।

हुर्कँदै जाँदा खेलप्रति आकर्षित भएँ। बुबाले भाइलाई जस्तै बाहिरी खेलहरूमा मलाई पनि सक्रिय बनाउनुभयो। तेक्वान्दो खेलमा मेरो विशेष रुचि छ। पढाइ भने धेरै माथि लैजान सकिनँ। यसको कारण एसएलसी सकिनेबित्तिकै विवाह हुनु पनि थियो।

मेरो १९ वर्षको उमेरमा आफैँले रोजेको केटासँग विवाह भयो। अन्तरजातीय विवाह भएकाले सुरुमा केही अप्ठ्यारो पनि भयो। तर हामीले त्यसलाई स्विकारेर व्यवस्थापन गर्दै गयौँ। विवाहपछि छोरीमान्छेको जिन्दगी नै बदलिने रहेछ। तर त्यसमा श्रीमानले निकै साथ दिनुभयो।

अहिलेको समयमा १८-१९ वर्षको उमेर सानै हो। तर म २० वर्षको उमेरमा आमा बनिसकेकी थिएँ। एकजना सन्तान छन्, जो अहिले १२ कक्षामा पढ्दै छन्।

त्यसबेला परिवारको योजना बनाउने भन्ने नै थिएन। विवाहको केही समयपछि नै गर्भ बस्यो। म डेढ महिनाको गर्भवती हुँदा श्रीमान् दुर्घटनामा पर्नुभयो। खुट्टामा रड नै हालेर लामो समय उहाँ वैशाखीको सहारामा हिँड्नुपर्यो। एकातिर गर्भ बसेको छ। गर्नुपर्ने केही थाहा छैन। त्यसमा श्रीमान् नै थला पर्नु भयो। त्यसले मलाई मानसिक रूपमा केही कमजोर भयो।

मेरो घर र माइती पाँच मिनेटको दूरीमा छ। गर्भवती भएको थाहा पाएपछि सबैभन्दा पहिला भाइलाई सुनाएको थिएँ। सबैजना खबर सुनेर खुसी हुनुभयो।

तर गर्भ रहेको बेलामा आफूलाई स्याहार्नुपर्ने, श्रीमानलाई स्याहार्नुपर्यो। त्यसैले पनि म आफूलाई बलियो मान्छु। भर्खर-भर्खर विवाह भएको, एक अर्काको संस्कृतिमा घुलमिल हुँदै गरेको र जिम्मेवारी बुझ्दै गरेको। सबै कुरा एकै पटक भएको जस्तो हुँदा नौ महिनाको गर्भवती यात्रा निकै गाह्रो भयो।

मैले श्रीमानलाई जुन साथ दिएँ, उहाँबाट पनि त्यस्तै साथ पाएँ। श्रीमानको साथ भएपछि छोरीमान्छेले सबै थोक गर्न सक्ने रहेछन्। म आफैँ खेलमा सक्रिय भइराखेकाले त्यसबेला पनि फुर्तिलो थिएँ।

गर्भवती भएको सुरुको केही महिना खानाको गन्धहरूले निकै गाह्रो बनाएको थियो। श्रीमानको खुट्टा भाँचिएका कारण सासूआमाले खुट्टाको सुप बनाएर दिनुहुन्थ्यो, मलाई भने त्यसको गन्धले अप्ठ्यारो बनाउँथ्यो। त्यसबाहेक त मैले मजाले खाएँ। त्यो बेलामा अहिलेभन्दा पातली थिएँ, तर खाएको कुरा मजाले बाबुमा गएछ।

बाबुलाई जन्म दिँदा उनी ३ केजी ७ सय ग्रामका थिए। खुट्टाहरू पनि खासै सुन्निएनन्। राति सुत्दा भने पेटले गर्दा सास नै रोकिए जस्तो हुन्थ्यो। त्यसैले केही समय स्वास्थ्यलाई ध्यान दिँदै माइतमा बसेँ। त्यसबेला आमाले निकै स्याहार्नुभयो।

आमाले साँझ छिट्टै तातोतातो खाना खुवाउनुहुन्थ्यो र केही समयपछि पसिना आउने गरी हिँड्न लगाउनुहुन्थ्यो। आमाले "नर्मल जन्मिनुपर्छ, अप्रेसन गर्यो भने गाह्रो हुन्छ। हामी नभएको बेला कसले हेर्छ?" भन्नुहुन्थ्यो। त्यसैले पनि शारीरिक रूपमा म निकै फुर्तिलो थिएँ।

तर मानसिक रूपमा भने गर्भको समय संवेदनशील हुने रहेछ। कसैले केही भन्यो भने पनि चित्त दुखेर रुन मन लाग्थ्यो। कहाँ जाऊँ, के गरौँ भन्ने हुन्थ्यो। एक मनले त परिवार नै छोडेर माइतीमा बसौँ जस्तो सोच पनि आएको थियो। अनि एक प्रकारको उत्सुकता पनि थियो- के हुने हो, कस्तो हुने हो भन्ने लाग्थ्यो।

पूरै नौ महिना पूरा हुँदासम्म पनि मैले अस्पतालमा जाँच गराइनँ। आमाले जाऔँ भन्नुहुन्थ्यो, तर मलाई डर लाग्छ भनेर जाँदै गइनँ। श्रीमानसँग जान्छु भन्थेँ। श्रीमान् ठ्याक्कै बाबुलाई जन्म दिने समयमा बल्ल वैशाखीबिना हिँड्न सक्ने हुनुभएको थियो।

बच्चा कहिले जन्मिन्छ वा उसको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे म अन्जान थिएँ। नौ महिना हुँदै गर्दा चिसो पानीले नुहाएको थिएँ, पेट चसक्क दुख्यो। आमालाई सुनाउँदा चिसोले होला भन्नुभयो। श्रीमान् पनि ठ्याक्कै आउनुभएको बेला, लामो समयपछि देखेकाले हामी भावुक पनि भएका थियौँ।

त्यत्तिकैमा अस्पताल गयौँ। अगाडिको रिपोर्टहरू देखाउनु भन्नुभएको थियो, तर आमाले "गाउँबाट भर्खर आएको" भनेर मेरो लागि झुट बोलिदिनुभयो। गाउँको स्वास्थ्य चौकीमा चेक गरेको कुनै कागज माग्नुभएको थियो, तर हामीसँग केही पनि थिएन।

दिउँसो चार बजेदेखि प्रसव व्यथा लाग्न थालेको थियो, भोलिपल्ट १२ बजेर १६ मिनेटमा मैले बाबुलाई जन्म दिएँ। धेरै गाह्रो हुने रहेछ। निद्रा लागेको जस्तो हुने, अर्कै प्रकारको दुखाइ हुन्थ्यो। त्यो कलिलै उमेरमा प्रसव व्यथा सहनु परेर हो कि, अर्को सन्तान जन्माउने आँट नै आएन। नत्र एउटी छोरी भइदिए हुन्थ्यो भन्ने त अहिले पनि लाग्छ।

बाबुको तौल बढी भएर पनि मलाई गाह्रो भएको रहेछ। गर्भको बेलामा हुने दुखाई फिल्मतिर मात्र देखेकी थिएँ। त्यस्तो दुखाइ आफैँले अनुभव गर्दा त सास नै रोकिए जस्तो हुने रहेछ। त्यो डर अझै मनमै छ।

तर फेरि जन्म दिइसकेपछि त कता जाऊँ, के गरौँ जस्तो हुने रहेछ। शरीर निकै हलुका भएको महसुस गरेँ। बेस्कन भोक लाग्ने र निद्रा लाग्ने हुने रहेछ। त्यसबेला मलाई गुन्द्रुकको झोलसँग भात खान मन थियो, आमालाई भनेको पनि हुँ। तर त्यसबेला कहाँ त्यो खान पाउनु!

नर्मल जन्मिएकाले छिट्टै घर जान दिइयो। आमा र बच्चाको स्वास्थ्य निकै राम्रो रहेछ। अझ बिचमा मैले डाक्टरसँग निरन्तर परामर्श गरेको र क्याल्सियमहरू खाएको भए त बाबु झन् मजाको ५ किलोकै जन्मिन्थ्यो कि जस्तो लाग्छ। बाबुलाई मैले पाँच वर्षसम्म स्तनपान गराएँ।

श्रीमान् पनि ठिक हुनुभएको र म आफैँ पनि तङ्ग्रिँदै गएकाले सुत्केरी स्याहार पनि राम्रो पाएँ। आमाले मलाई र मेरो बच्चालाई निकै माया गरेर हुर्काउनुभयो। बाबु पनि त्यसैले होला निकै फुर्तिलो छ, बाहिरी क्रियाकलापमा सक्रिय हुन्छ। उनी मेरो साथी जस्तै भएका छन्।

एउटा मात्र सन्तान भएकाले उसको लागि जे-जसरी हुन्छ राम्रो गर्नुपर्छ भन्ने लाग्छ। उसले पनि हाम्रो व्यवसायमा सहयोग गर्न थालेको छ। विभिन्न कसरतका तालिमहरू पनि गर्दै छ। उनी लाहुरे बनेको हेर्ने हाम्रो र उसको पनि सपना हो। त्यो सपना पूरा नभए पनि हाम्रो साथ सदैव रहनेछ।

त्यसबेला त्यस परिवेशमा दुःख पाएँ जस्तो लाग्थ्यो, तर अहिले ठिकै भएछ जस्तो लाग्छ। सन्तान बेलैमा हुर्कियो। माइती नजिक भएर पनि धेरै सहज भएको होला। खुसी लाग्छ। जीवनका यति धेरै संघर्षको यात्रा पार गरेछु भन्ने लाग्छ। अब आफ्नो लागि पनि समय निकाल्न पाइरहेकी छु।

आमा हुनु भनेको आफ्नी आमालाई बुझ्नु पनि रहेछ। यो शब्दमा सीमित नहुने र भन्दै गयो भने नथाकिने विषय रहेछ। आमा बनेपछि आफूलाई थप जिम्मेवार, बलियो र आत्मविश्वासी भएको अनुभव हुने गर्छ।

पुष १३, २०८२ आइतबार २०:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।