१० वर्षपछि बालुवाटार बैठकमा प्रधानमन्त्रीको ‘कुर्सी’मा हुने छैनन् ओली, देउवा र प्रचण्ड

१० वर्षपछि बालुवाटार बैठकमा प्रधानमन्त्रीको ‘कुर्सी’मा हुने छैनन् ओली, देउवा र प्रचण्ड

काठमाडौं : विगत एक दशकदेखि नेपालको सत्ता राजनीतिमा ‘म्युजिकल चेयर’ जसरी प्रधानमन्त्रीको कुर्सीमा आलोपालो गरिरहेका प्रमुख तीनै दलका शीर्ष नेताहरू आज १० वर्षपछि पहिलो पटक ‘विपक्षी’ वा ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा प्रधानमन्त्री निवास बालुवाटार पुग्दैछन्।

आज दिउँसो ४ बजे प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्।

जेन-जी आन्दोलनपछि उनीहरू पहिलो पटक बालुवाटार जान लागेका हुन्।

१० वर्षयता बालुवाटारमा आयोजना हुने यस्ता शीर्ष बैठकमा यी तीनमध्ये एक जना सधैँ प्रधानमन्त्रीको कुर्सीमा हुन्थे। तर, आजको दृश्य भने फरक हुनेछ।

२०७२ असोज २४ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएपछि सुरु भएको ओली, देउवा र प्रचण्डको सत्ता आरोहणको चक्र १० वर्षसम्म अनवरत चल्यो। २०७२ असोज २५ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने।

त्यसयता २०७३, २०७४, २०७८, २०७९ हुँदै २०८१ सम्म आइपुग्दा सत्ताको बागडोर यिनै तीन नेताको वरिपरि घुमिरह्यो। पछिल्लो पटक २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २०८२ भदौ २४ गते राजीनामा दिएपछि यो चक्र भंग भएको हो।

भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन-जी’ युवाहरूको सशक्त आन्दोलनले मुलुकको राजनीतिमा अभूतपूर्व परिवर्तन ल्यायो। युवाहरूको दबाब र विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न दलहरू बाहिरबाट एक अभिभावकको खोजी भयो।

न्यायपालिकाको सर्वोच्च पदबाट अवकाश लिएको आठ वर्षपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सुम्पिइयो।

भदौ २४ गते प्रधानमन्त्री ओलीको राजीनामापछि भदौ २७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी कार्कीको काँधमा देशमा शान्ति स्थापना, सुशासन र निष्पक्ष निर्वाचन गराउने मुख्य कार्यादेश रहेको छ।

आजको छलफलमा प्रधानमन्त्री कार्कीले तीनै शीर्ष नेतालाई सत्ताको लुछाचुँडीभन्दा माथि उठेर निर्वाचनको वातावरण बनाउन र देशलाई निकास दिन आग्रह गर्ने बुझिएको छ।

१० वर्षसम्म सत्ताको केन्द्रमा रहेका ओली, देउवा र प्रचण्डका लागि आजको बालुवाटार बैठक आफैँमा एक फरक र गम्भीर अनुभव हुनेछ।

पुष १२, २०८२ शनिबार १२:२२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।