फागुन २१ को चुनावमा को-को बन्न पाउँछन् अस्थायी मतदाता? आयोगले तोक्यो मापदण्ड
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी मापदण्ड तय गरेको छ।
आयोगले अस्थायी मतदाता बन्न पाउने व्यक्तिहरूको सूची र प्रक्रिया निर्धारण गरेको हो।
आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका नागरिकहरूले समानुपातिक तर्फ मतदान गर्न पाउने गरी अस्थायी मतदाताको सूचीमा समावेश हुनेछन्।
अस्थायी मतदाता बन्नका लागि आयोगको अन्तिम मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्नेछ।
आयोगले तोकेको मापदण्डअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यरत कर्मचारी, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्य, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिने कर्मचारी र सुरक्षाकर्मी, सरकारी वा सरकारको स्वीकृतिमा सञ्चालित वृद्धाश्रममा बसोबास गर्ने व्यक्ति र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू अस्थायी मतदाताको रुपमा रहनेछन्।
अस्थायी मतदाता नामावली सङ्कलन तथा व्यवस्थापनका लागि केन्द्र र जिल्ला तहमा छुट्टाछुट्टै समितिको व्यवस्था गरिएको छ।
केन्द्रमा ‘अस्थायी मतदाता नामावली समन्वय समिति’ को संयोजकमा निर्वाचन आयुक्त रहनेछन्। समितिमा निर्वाचन आयोग, गृह, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरू सदस्य रहने व्यवस्था छ।
यस्तै, आयोगका सबै महाशाखाका सहसचिव र वरिष्ठ कम्प्युटर अधिकृत सदस्य तथा मतदाता नामावली शाखाका उपसचिव सदस्य सचिव रहनेछन्।
जिल्ला तहमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहनेछ। जसमा सुरक्षा निकायका प्रमुख र कारागार प्रमुख सदस्य तथा निर्वाचन अधिकारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
अस्थायी मतदाता नामावली तयार गर्न सम्बन्धित निकायहरूले आफ्ना कर्मचारीको विवरण (विद्युतीय प्रतिसहित) निर्वाचन कार्यालयमा पठाउनुपर्नेछ। प्राप्त विवरणलाई प्रमुख नाम दर्ता अधिकारीमार्फत सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराइनेछ।
अन्त्यमा, निर्वाचन अधिकृतले मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको विवरण यकिन गरी तोकिएको ढाँचामा अस्थायी मतदाता नामावली तयार गर्ने आयोगले जनाएको छ।
पुष १२, २०८२ शनिबार ०९:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।