काठमाडौंका यी स्थानमा आज २ घण्टा विद्युत् कटौती हुने

काठमाडौंका यी स्थानमा आज २ घण्टा विद्युत् कटौती हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा तार जोड्ने कार्यका लागि आज राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गत पर्ने निम्न स्थानहरूमा विद्युत् अवरुद्ध हुनेछ:

लाजिम्पाट, पानीपोखरी र महाराजगञ्ज क्षेत्र
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) आसपास
राष्ट्रपति भवन (शीतल निवास) क्षेत्र
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
नेपाल प्रहरी अस्पताल र आसपासका क्षेत्र

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेको छ।

सोही आयोजनाअन्तर्गत भूमिगत गरिएका तारहरू जोड्ने कामका लागि विद्युत् प्रवाह रोक्न लागिएको हो।

प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भएमा निर्धारित समयअगावै विद्युत् सेवा सुचारु गरिने समेत सूचनामा उल्लेख गरेको छ।

पुष १२, २०८२ शनिबार ०७:२३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।