प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेतासँग आज छलफल, मुख्य एजेन्डा ‘निर्वाचन’

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेतासँग आज छलफल, मुख्य एजेन्डा ‘निर्वाचन’

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न लागेकी हुन्। बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको छ।

बालुवाटार स्रोतका अनुसार आजको छलफल मुख्यतया आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरण निर्माणमा केन्द्रित रहनेछ।

यसअघि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले तीनै जना शीर्ष नेतालाई भेटी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए। सोही भेटमा मन्त्री खरेलले प्रधानमन्त्रीले डाकेको बैठकको लागि नेताहरूलाई औपचारिक निम्तो समेत दिएका थिए।

केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा दलका शीर्ष नेताहरूलाई बोलाएर निर्वाचनको विषयमा छलफल अघि बढाउन सुझाव दिएका थिए। सोही सुझाव र सरकारको तयारीअनुरूप आजको बैठक बस्न लागेको हो।

पुष १२, २०८२ शनिबार ०७:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।