भावी प्रधानमन्त्रीको उम्मेदवार र पार्टी एकतामा रवि लचिलो, सहमतिको खाका बनाउँदै टिम

भावी प्रधानमन्त्रीको उम्मेदवार र पार्टी एकतामा रवि लचिलो, सहमतिको खाका बनाउँदै टिम

काठमाडौं : सहमतिको नाममा आफ्नो नाम मात्र प्रयोग गर्ने रणनीति बनाएको भन्दै बालेन शाह देश विकास पार्टीबाट संसदीय राजनीतिमा आउन सक्रिय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लचिलो भएका छन्।

बिहीबार बालेनले राखेको भावी प्रधानमन्त्रीसहितको पार्टीमा स्थान, एकता र उम्मेदवारको प्रतिशतबारे जिज्ञासा राखेका थिए। रविले पार्टीमा छलफल गर्नुपर्ने भनेर हिँडेपछि बालेनले अन्य नेता र जेनजी प्रतिनिधिसँग छलफल गरेर कुपन्डोलमा देश विकास पार्टीको कार्यालयसमेत बनाउन लगाए।

बिहीबार बेलुकासम्म अब आफ्नै पार्टीबाट राजनीतिमा अगाडि बढ्ने निष्कर्ष निकालेका बालेन सम्भावित समानुपातिक सूची बनाउन लगाएका थिए।

उता बालेनसँगको भेटपछि रविले बिहीबार डिपी अर्याल, स्वर्णिम वाग्लेसहितको नेताहरूसँग छलफल गरेका थिए। पार्टीको नाम, चुनाव चिन्ह स्विकारे पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान समस्या नहुने सुझावपछि शुक्रवार बिहानै बालेनलाई रविले सन्देश पठाए।

"बालेनको चासो रविले विवेकशील साझा जसरी विलय गराउने र प्रचारमा मात्र प्रयोग गर्ने हुन् कि भन्ने मुख्य थियो। भावी प्रधानमन्त्री पनि मौखिक मात्र हुने देखेपछि उनी आफै सक्रिय हुन छलफलमा जुटेपछि रविबाट लचिलो प्रस्ताव आयो। छलफल चलिरहेको छ। सहमति हुन नि सक्छ," बालेन निकट स्रोतले भन्यो।

स्रोतका अनुसार रविले लिखित रूपमै आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने वचन दिएका छन्। रवि र बालेनबीच छलफल गराउँदा माहोल बिग्रन थालेपछि पहिला सहयोगीले सहमतिको खाका बनाउने र अन्तिममा रवि र बालेनलाई देखाएर फाइनल गर्ने रणनीतिअनुसार गृहकार्य भइरहेको छ।

अलग अलग दलबाट निर्वाचनमा जाने तर चुनाव चिन्ह एकै लिनेबारे समेत छलफल भइरहेको छ। यसको विकल्पमा देश विकास पार्टी, उज्यालो नेपाल र रास्वपाबीच एकता नै गरेर जाने विकल्प पनि छलफलमै छ।

यसरी जाने हो भने रवि पार्टीको नेतृत्वमै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवारसहित दोस्रो नेता हुने गरी वैकल्पिक खाका बनेको छ। यसमा कुलमान घिसिङको स्थानबारे भने अझै तय भएको छैन। यसबारे खाका बनेपछि बालेनले घिसिङसँग छलफल गरेर टुंग्याउने तयारी भएको छ।

अहिले खाका बनाउन बालेनबाट कुमार बेन सहितको समूह छन्। रविबाट बालेनसँग राम्रो सम्बन्ध भएका आशिफ र असिम शाह खटिएका छन्। उनीहरूले दुवै नेतासँग छलफल गरेर सहमति भएका आजै हस्ताक्षर गर्ने तयारी गरिएको छ।

पुष ११, २०८२ शुक्रबार १४:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।