बालुवाटारको निम्तो दिन तीन दलका नेताको घर-घर पुग्दै सञ्चारमन्त्री

बालुवाटारको निम्तो दिन तीन दलका नेताको घर-घर पुग्दै सञ्चारमन्त्री

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बोलाएको तीन दलको छलफलको निम्तो दिन मन्त्री खरेल नेताहरूको घरघरमा पुगेका हुन्।

यसै क्रममा, मन्त्री खरेलले आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगन्जमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा सभापति देउवाले सरकारले अहिलेसम्म निर्वाचनको विश्वसनीय वातावरण नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले तत्काल निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिए।

ओली र प्रचण्डसँग पनि भेट्दै
देउवासँगको भेटपछि मन्त्री खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास गुण्डु प्रस्थान गरेका छन्।

त्यसलगत्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारस्थित उनको निवासमा भेट्ने कार्यक्रम तय भएको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनका विषयमा छलफल गर्न शनिबार देउवा, ओली र प्रचण्डलाई बोलाएकी छिन्।

सोही बैठकको औपचारिक निमन्त्रणा दिन मन्त्री खरेल आफैं शीर्ष नेताहरूको निवास पुगेका हुन्।

पुष ११, २०८२ शुक्रबार १२:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।