सैनिक मुख्यालयबाट ज्वागलमा सरेको शक्ति
काठमाडौं : भदौ २४ पछि भावी प्रधानमन्त्री छान्न सैनिक मुख्यालय सुन्धाराको गेटमा देखिएको भिडभाड तीन महिना कटेपछि सरेर ललितपुरको ज्वागल सर्यो। त्यो बेलामा केन्द्रमा थिए प्रधानसेनापति अशोकराज सिग्देल। ज्वागलको वार्ताको केन्द्रमा छन् काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह।
दुवै दृश्यका अधिकांश पात्र समान छन्। उद्देश्य पनि समान। प्रधानमन्त्री पदबाट केपी ओलीको राजिनामासँगै नयाँ प्रधानमन्त्री खोज्न सैनिक मुख्यालय अगाडि विभिन्न जानका जेनजीको संख्या बाक्लो थियो। प्रधानसेनापतीसँग कोही प्रत्यक्ष कार्यकारी माग्न भेला भएका थिए त कोही राजा।
त्यहाँ आफ्नालाई प्रधानमन्त्री बनाउन कुलमान घिसिङदेखि हर्क साम्पाङसम्मका समर्थक थिए। अनि उनीहरु मुख मिठ्याउँदै देश संकटमा रहेको बेलामा जिम्मेवारी आए तयार भएको बताइरहेका थिए सञ्जालबाट। तर मौका जुर्यो सुशीला कार्कीलाई।
यता ज्वागलमा पनि जेनजी पुस्ताको संख्या धेरै छ। यसमा राजतन्त्र माग्ने देखिएका छैनन्। सुशीलाको राजीनामा माग्दै माइतीघरमा आन्दोलनरत मिरज ढुंगाना समूहका पनि देखिएका छैनन्। सेनाले जेनजी आन्दोलनका स्टेकहोल्डर बनाउन खोजेका दुर्गा प्रसाईँ पनि देखिएका छैनन्। बाँकी सराबर छन्।
पुरानामा डा बाबुरामदेखि नयाँमा खगेन्द्रसम्म पुगेका छन्। फुटेज भ्याउन अमरेशकुमार सिंहदेखि सुनिल शर्मासम्म झुल्किएका छन्। यसमा बाबुराम बाहेकका अमरेश हुन् या सुनिल यी दुबै नेपाली राजनीतिको विकृतीका उत्पादन हुन् भन्ने लुकेको पक्ष हैन।
यी दुबै भेला र छलफलको उद्देश्य पनि समान देखिन्छ-भावी प्रधानमन्त्रीको खोजी। सैनिक मुख्यालयमा भिड बढाउन बालेनले नै योगदान गरेका थिए" सेनासँग वार्ता" भनेर। सैनिक मुख्यालयमा अगाडि जेनजीको सहमति देखिए पनि अदृश्य सर्त सेनाले रुचाएको पात्र थियो नै। यता ज्वागलमा पनि नयाँ र वैकल्पिक राजनीतिक शक्तीबीचको सहकार्य बाहिरी कारण देखिए पनि अदृश्य कारण भावी प्रधानमन्त्रीको खोजी नै देखिन्छ।
यी दुवै छलफलका कारक र कारण र लक्ष्य समान भए पनि प्रक्रिया भने भिन्न छ। सैनिक मुख्यालयको छलफलमा जनमतको कुनै अर्थ थिएन। सीमित जेनजी, सेना र राष्ट्रपतिको इच्छा प्रमुख थियो। त्यसकै लागि डिस्कर्ड,बालेनको फेसबुकहुँदै सुशीला कार्की अनुमोदित भएकी थिइन् प्रधानमन्त्रीमा।
यता ज्वागलमा भने भावी निर्वाचनबाट मतदान मार्फत अनुमोदित हुन सक्ने प्रधानमन्त्री छान्न बुधवारबाट छलफल बाक्लिएको देखिन्छ। त्यो छलफलमा सर्त छलफलमा सहभागी हुन इच्छा भएका सुनिलदेखि अमरेशसम्म अटाएका छन्। अर्को सूची बालेनले भेट्न चाहेका डा बाबुरामदेखि रवि लामिछानेसम्म पुगेका छन्।
जेनजी अगुवाको रूपमा भिन्न धार समातेका रक्षा बमदेखि सुधन गुरुङसम्म ज्वागलमा बालेनको नजिकै बसेर छलफल गरिरहेको दृष्य बाहिरिएका छन्। वेटिङ लिस्टमा कुलमान घिसिङदेखि हर्क साम्पाङसम्मका नाम सार्वजनिक भएका छन्।
आगामि चुनावमा पुराना दललाई जनमतबाट तह लगाउने शक्तीको खोजीमा रास्वपा मुख्य केन्द्रमा परेको थियो। यसको कारण २०७९ मा रास्वपाले पाएको मत, छोटो समयमा तल्लोतहसम्म पुगेको पार्टीको नाम र चुनाव चिन्ह र केही हदसम्म पार्टीको संगठन नै हो।
फागुन २१ मा चुनाव भए छोटो समय भएकाले पार्टीको नाम, चिन्ह भिजाउन र संगठन निर्माण गर्न कठिन हुने भन्दै रास्वपालाई रिफर्म गर्ने प्रयास भएकै हो। त्यसमा समस्या रविलाई के गर्ने भन्ने समस्या देखियो। उनी निरन्तर आपराधिक अभियोगले घेरिए पनि पार्टी त उनकै जगमा उभिएको थियो।
विकल्पमा रविलाई संरक्षक राखेर नेतृत्वमा कुलमान राख्ने सुत्र अगाडि बढाइयो। तर प्यारासुट नेता स्विकार्य नहुने भन्ने प्रतिक्रियापछि यो च्याप्टर लगभग सकियो। रविलाई सभापती अनि कुलमानलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिन्छ भन्ने पक्षमा पनि बहस भयो। तर यसमा पनि नतिजा आएन।
अनि कुलमानको नेतृत्वमा बालेन समर्थक, जेनजी, रास्वपा छाडेका, विवेकशील साझाका नेतासहितको नयाँ राजनीतिक शक्ति निर्माणको अभ्यास शुरु भयो। यसमा पनि बालेनले सघाएकै हुन्। यसमा सुमानसहितले पसिना बगाएकै हुन्। तर कुलमान नाम र चुनाव चिन्हमा लचिलो बन्न सकेनन्। उनले सिद्धान्त हैन ब्यक्ती प्रधान पार्टीमा रुची देखाउँदा सानो समूह समेटेर उज्यालो नेपाल पार्टी दर्ता गराए।
उता हर्क साम्पाङ आफ्नै दल गठन गरेर चुनावी अभियानमा होमिए। उनी दायाँ-बायाँ लागेनन्। लागेका छैनन्। निरन्तर संगठन विस्तार र प्रचारमा छन्। विवेकशीलको ब्यानर बोकेर नेतृत्वमा रहेका एक समूह समानुपातिकबाट सांसद हुने लोभमा रास्वपामा गए। सुमना अझै नयाँ राजनीतिक ट्विस्ट कुरेर बसिन्।
संगठन निर्माणमा सक्रिय भएको छोटो समयमै फेसबुकमा आउने लाइक र कार्यक्रममा आउने समर्थकबीचको भिन्नता बुझे कुलमानले। अपेक्षा अनुसार उज्यालो नेपालले हाइप बनाउनु भन्दा कुलमान भ्रष्टाचारतिर जोडिन थाले। संगठन निर्माण सुस्त देखियो। यो बिचमा अदालतबाट अर्को ट्विस्टको रूपमा फैसला अगाडि नै सकारेको बिगोको आधारमा थुनामुक्त हुने नयाँ न्यायिक अभ्यासबाट रवि थुनामुक्त भए।
झन्डै एक वर्ष थुनामा बसेर चितवन जाँदा चितवन ठप्प हुने रविको अपेक्षा चितवनवासीले हावा खुवाए। २ हजार जम्माजम्मीकाबीच दुख बिसाउँदै उनी ठूला दललाई चुनौती दिएर काठमाडौं फर्किए। भदौ २४ मा नख्खुबाट निस्कँदा आफ्नो लोकप्रियता कति खस्किएछ अनुभव भएपछि उनले बिट मरिसकेको एकतालाई पुन ब्युँताउदै रवि-बालेनबीच ६ घण्टा संवाद भयो।
त्यो संवादमा दुबै गीत गाउँदै भावुक भएको र भावी प्रधानमन्त्रीका रुपमा बालेनको नाम टुङ्ग्याएको दाबी सार्वजनिक भएको २४ घण्टामा गलत पुष्टि भयो। रविमाथि विश्वास गर्न नसक्ने भन्दै बालेन आफैँ नयाँ शक्ती निर्माण गर्न कस्सिए। अनि रास्वपाका नेताहरुले आफ्नोतर्फबाट भावी प्रधानमन्त्रीको मुहार भनिएका बालेन बुधवारबाट आफैँ दल हाँक्ने रणनीतिमा उत्रिएर ज्वागललाई राजनीतिक संवादको केन्द्र बनाइदिए।
रक्षा बम बाहेक बालेसँग भेटेका अन्यले छलफलमा के भयो भन्ने प्रस्ट धारणा सार्वजनिक गरेका छैनन्। प्राय सबैले नयाँ दल एक हुनुपर्छ भन्ने विषयमा छलफल भएको बताए। केहीले आदर्शवादी सुझाव दिएको बताए, केहीले आक्रामक सुझाव सार्वजनिक गरे। रविले हेर्दै जानु भनेर सिक्वेल कुराए।
वर्तमान संविधान, संघीय प्रणाली र संसदबाट प्रधानमन्त्रीको चयनमा अडिग देखिएकी रक्षाले भने आफ्नो धारणामा बालेन प्रस्ट देखिएको भन्दै अब बालेनसँगै राजनीतिमा आउने घोषणा गरिन्। बालेनको तर्फबाट पनि वर्तमान संविधान ठिक, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जोखिम रहेको भनेर स्विकार गरेको धारणा आए।
तर छलफलको म्याराथनमा अझै बालेन कुन दललाई अगाडि सार्न राजी छन् प्रस्ट भइसकेको छैन। चर्चा र दाबी अनुसार उनले स्वतन्त्र उम्मेदवार हुँदा लिएको लौरो चुनाव चिन्ह पाएको देश विकास पार्टीको नाम अगाडि आएको छ। विकल्पमा रास्वपाले दलको नाम बदल्न राजी भए चुनाव चिन्ह घण्टीमा नि सकारात्मक रहेको भनिए पनि रविले बोकेको अभियोगका भारीहरु के गर्ने भन्ने अन्योल भने प्रष्ट देखियो।
यसले दृश्य अझै तुवाँलोमय नै देखियो। त्यो तुवाँलोमा नि अब बालेन काठमाडौं महानगर पालिकाको मेयरको भूमिकामा मात्र सीमित रहन्नन् भन्ने आकार भने देखियो। तर उनी कुन भूमिकामा झ्यांग हुन्छन् ? समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति निकट भएकाले केही दिनमै तुवाँलो नहटी सुख पनि छैन।
पुष १०, २०८२ बिहीबार १९:३१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।